काठमाडौं- ३५ वर्षका बिरामी गम्भीर भएपछि भक्तपुर अस्पतालमा उपचार भइरहेको थियो । तर, अक्सिजन नभएर अस्पतालको अवस्था झन् गम्भीर भयो ।
बुधबार बिहान ११ः१५ बजे बिरामीको दाजुलाई बोलाएर अस्पतालले यस्तो कागज गरायो– ‘कोभिड संक्रमित बिरामीका लागि अत्यधिक अक्सिजन आवश्यकता परेको, तर यस विषम परिस्थितिमा राज्यले प्रशस्त अक्सिजनको व्यवस्था मिलाउन नसकी अक्सिजनको चरम अभाव भएको हुँदा अस्पतालले पनि अक्सिजनको पर्याप्त मात्रामा व्यवस्थापन गर्न नसकेको, वार्ड तथा इमर्जेन्सीमा भएको बिरामीहरूलाई चाहिने मात्रामा अक्सिजन दिन नसकिरहेको अवस्थामा बिरामीहरूको ज्यान तल–माथि भएमा अस्पताल तथा कुनै पनि कर्मचारीहरू जवाफदेही हुनेछैन । जे–जस्तो छ, त्यसैमा उपचार गर्न तयार छु भनी सहीछाप गर्न मञ्जुर छु।’
भक्तपुर मात्र होइन, देशैभरका सरकारी अस्पतालले बिरामीका आफन्तलाई यस्तै कागज गराउन थालेका खबर आजको नयाँ पत्रिका दैनिकले छापेको छ।
‘मेरो बिरामीले अक्सिजन नपाएर मृत्यु भएमा जवाफदेही कोही पनि हुनेछैन’ भन्ने कागजमा औँठाछापसमेत लगाउन बिरामीका आफन्त बाध्य भएका छन् । यहीबीच अक्सिजन रोकिएर बुधबार मात्रै रुपन्देहीमा नौजना र नेपालगन्जमा ६ जना बिरामीको मृत्यु भएको छ ।