काठमाडौं– नेकपा (एमाले) ओली समूहको स्थायी कमिटीको बैठक बालुवाटारमा सुरु भएको छ । ‘नयाँ राजनीतिक घटनाक्रमलाई कसरी ह्याण्डिल गर्ने’ भन्नेबारेमा निर्णय गर्न वैठक बसेको एक स्थायी समिति सदस्यले जानकारी दिए ।
संसदमा विश्वासको मत गुमाएपछि राष्ट्रपतिबाट आह्वान भएको गठबन्धन सरकार निर्माणको समयसीमा आज राति ९ बजे सकिदैछ । दुई सय ७५ जनाको संसदमा केपी ओली ९३ जना संख्याका मात्र प्रधानमन्त्री बनेका छन् ।
एमाले खनाल–नेपाल पक्षले आजै सांसद पदबाट राजीनामा दिने तयारी गरेको छ । जसपाको पोजिशनलाई हेरेर ओलीलाई विदाइ गर्नका लागि कति संख्या चाहिन्छ त्यही अनुसार राजीनामा दिने माधव पक्षका एक नेताले जानकारी दिए ।
नेपाल पक्षका सांसदले राजीनामा दिँदा नयाँ प्रधानमन्त्री बन्न कस्सिएका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका पक्षमा बहुमत पुग्ने हुँदा त्यसलाई रोक्न ओली सक्रिय भएका हुन्।
नेपाल पक्षका कम्तीमा १६ सांसदले राजीनामा दिँदा संसदको कूल सदस्य संख्या घट्ने र जसपाको महन्थ ठाकुर पक्षले साथ नदिए पनि विपक्षी गठबन्धनलाई बहुमत पुग्ने आकलन भइरहेको छ।
त्यसका लागि देउवाले नेपाल पक्षका सांसदलाई मनाउने प्रयास गरिरहेका छन् भने आफ्नै अध्यक्ष भए पनि ओली प्रतिगमनकारी भएको र लोकतन्त्र ध्वस्त बनाउन उद्दत भएको आरोप लगाउँदै नेपाल पक्षका सांसदले पनि बरु आफूहरूले राजीनामा दिएर भए पनि उनलाई सत्ताबाट हटाउनैपर्नेमा जोड दिइरहेको खबर आइरहेका छन्।