काठमाडौँ- राष्ट्रिय सभा सदस्यको उप निर्वाचनमा एमालेका उम्मेदवार राम बहादुर थापा बादललाई जिताउन हेटौडा आएका गोकुल बास्कोटाको ट्विटले राष्ट्रिय राजनीतिमा नयाँ तरंग पैदा भएको छ ।
ट्वीट गर्दै उनले भनेका छन्- बाग्मती प्रदेशबाट राष्ट्रियसभामा प्रतिनिधित्व गरिने चुनाबको मानिसहरु काउण्ट-डाउन गर्न थालेका छन । तर त्यो भन्दाबढी देशको सबभन्दा ठुलो पार्टी एमालेको सुरक्षित जीवनको चासो चै सोकारवालाले राखेको सत्यको कसीमा विश्लेषण गर्नु बस्तुनिष्ठ हुने पक्का हुन्छ है।
हिजो मात्रै माधब नेपालको सचिवालयले बादललाई गर्ने खालको सहमति नभएको बताएको थियो । माधब समुहले कांग्रेस माओबादि समाजवादी संग मिलेर खिमलाल देवकोटा लाई राष्टिय सभाको उम्मेद्वार बनाएको छ । माधब समुहले यदि एमालेका उम्मेदवार बादललाई मतदान गरेन र बादलले हारे भने एमालेको एकता समाप्त हुने बास्कोटाको संकेत छ ।
राष्ट्रियसभा उपनिर्वाचनका लागि गृहमन्त्री रामवहादुर थापा वागमति प्रदेशका एमालेका शीर्ष नेतासहित हेटौंडा आइपुगेका छन् । विहीबार हुने मतदानको पूर्वसन्ध्यामा बादल बुधवार हेटौंडा आएका हुन् । एमाले वागमती प्रदेशका इन्चार्ज समेत रहेका बादलसँगै सह(इन्चार्ज तथा शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठ, प्रदेश कमिटी अध्यक्ष आनन्द पोखरेल, पूर्व सञ्चारमन्त्री गोकुल बास्कोटा लगायतका नेता हेटौंडा आएका छन् ।
बादलले यहाँ पार्टीका नेता र एमालेका मतदाताहरुसँग छलफल गरेका छन् । राष्ट्रियसभाका लागि विहीबार विहान ९ बजेबाट मतदान हुँदैछ । यसैबीच एमाले नेता गोकुल बास्कोटाले वागमती प्रदेशमा विहीबार हुने राष्ट्रियसभा निर्वाचनको परिणामले एमाले एकता जोगिने वा टुट्ने निधो हुने संकेत गरेका छन् ।
त्यस्तै आज नै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बिहीबार हुने राष्ट्रियसभाको उपनिर्वाचनमा रामबहादुर थापा बादललाई मतदान गर्न अपील जारी गरेका छन्। उनले नेता बादलको विजयले कम्युनिष्ट आन्दोलनको भावनात्मक एकतामा समेत बल पुर्याउने उल्लेख गरेका छन्।
‘जेठ ६ गते वागमती प्रदेशबाट प्रतिनिधित्व हुने राष्ट्रियसभा सदस्यको रिक्त पदमा कमरेड रामबहादुर थापा हाम्रो पार्टीका उम्मेदवार हुनुहुन्छ । उहाँ नेपालको कम्युनिष्ट आन्दोलनको एकजना वरिष्ठ नेता हुनुहुन्छ । उहाँको विजयले कम्युनिष्ट आन्दोलनको भावनात्मक एकतामा समेत बल पुर्याउने छ । तसर्थ, यस निर्वाचनमा एकतावद्ध भएर आफ्नो पार्टीका उम्मेदवारलाई विजयी बनाउनु हुन आग्रह गर्दछु’, ओलीले अपीलमा भनेका छन्।
प्रधानमन्त्री समेत रहेका ओलीले पार्टीको आधिकारिक उम्मेदवारविरुद्ध उम्मेदवारी दिनु, लाखौँ जनताको हृदयमा रहेको निर्वाचन चिन्हलाई अवमूल्यन गर्नु र पार्टी निर्णयको विपक्षमा उभिएर मत खसाउने जस्ता विषय एमाले पार्टीमा कल्पना बाहिरको कुरा रहेको बताएका छन्।उनले एमाले भएर एमाले उम्मेदवारलाई मत नदिने विषय क्षमायोग्य नहुने चेतावनी पनि दिएका छन्।
‘यस्ता प्रवृत्ति बहुदलीय शासन प्रणाली अवलम्बन गर्ने कुनै पनि पार्टीका लागि समेत स्वीकार्य या क्षम्य हुनै सक्दैनन्’, ओलीले चेतावनीको शैलीमा भनेका छन्।