काठमाडौं- चीनको स्वायत्त प्रदेश तिब्बतले कोरोना संक्रमितको उपचारमा सहयोग पुर्याउन नेपाललाई आपतकालीन स्वास्थ्य सामग्री सहयोग गर्ने भएको छ।
नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले दिएको जानकारीअनुसार तिब्बतले नेपालाई ३० हजार लिटर अक्सिजन (तरल) र ८ सय थान अक्सिजन सिलिन्डरसहित विभिन्न आपतकालीन स्वास्थ्य सामग्री दिने भएको हो।
अन्य सामग्रीमा १० थान अक्सिजन कन्सेनट्रेटर्स, ५ थान भेन्टिलेटर, २ सय थान आईसीयू बेड र १५ हजार थान आपतकालीन एन्टिजेन (कोरोना परीक्षण गर्ने) किट उपलब्ध गराइने राजदूत यान्छीले बताइन्।
चीनको केन्द्र सरकारले पनि यस अघिदेखि नै नेपाललाई अक्सिजनलगायत स्वास्थ्य सामग्री उपलब्ध गराइरहेको छ। कोरोनाको दोस्रो लहरले नेपालका धेरै नागरिक बिरामी परेका छन्। देशैभर अक्सिजनको हाहाकार भएको छ। विश्व स्वास्थ्य संगठनले नै नेपाललाई विश्वका देशले आपतकालीन सहयोग आवश्यक रहेको बताइसकेको छ।