काठमाडौँ– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कोरोना नियन्त्रणमा सरकारले प्रभावकारी काम गर्न नसकेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई १५ बुँदे ज्ञापन पत्र बुझाएका छन् ।
पार्टीका शीर्ष नेताहरूसहित सिंहदरबार पुगेका सभापति देउवाले ज्ञापनपत्र बुझाउँदै प्रधानमन्त्री ओलीलाई जनताको जीवनप्रति जिम्मेवार रहन आग्रह गरेका हुन् ।
कोरोनाविरुद्धको खोप सबै नागरिकलाई उपलब्ध गराउन, अक्सिजनको अभाव अन्त्य गर्न र खोप खरीदमा भएको अनियमितताको छानबिन गर्न माग समेत गरेका छन् ।
‘खोप किन्ने कुरामा पनि भ्रष्टाचार गरेको कुरा आयो । यो त अत्ति भयो नि’, देउवालाई उद्धृत गर्दै कांग्रेस सह(महामन्त्री डा। प्रकाशशरण महतले भने । जवाफमा प्रधानमन्त्री ओलीले कोरोना नियन्त्रणका लागि सरकारले दिनरात प्रयत्न गरेको र भ्रष्टाचारको आरोप निराधार रहेको बताए । ‘भ्रष्टाचारीलाई छेउ पर्न दिन्न । दिनरात नभनी सरकारले काम गरेको छ’, ओलीको जवाफ थियो ।भेटमा सभापति देउवाले कोरोनाको तेस्रो लहरको चेतावनी विज्ञहरुले दिइसकेकाले बेलैमा तयारी गर्न सरकारलाई सुझाएका थिए ।
‘बालबालिकालाई धेरै असर गर्नसक्ने कुरा छ । बेलैमा सरकारले विशेष व्यवस्था गरोस्’, देउवाले भने ।
कोरोनाका विषयमा कुरा गर्न आफू आएको भन्दै छलफल सुरु गरेका सभापति देउवाले सरकारको आलोचना गरेका विषयमा प्रधानमन्त्रीले खण्डन गरेका थिए ।
‘कोरोना नियन्त्रणका लागि तपाईहरुले दिएको सुझाव ग्रहण गर्छु तर सरकारले केही नगरेको होइन भनेर ओलीले बताएका छन् ।