काठमाडौं- निवर्तमान गृहमन्त्री एवं नेकपा एमालेका उम्मेदवार रामबहादुर थापा बादललाई हराउँदै राष्ट्रियसभा सदस्यमा डा. खिमलाल देवकोटा विजयी भएका छन् । उनले ५०८८ मतभार पाए ।
देवकोटालाई नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र नेकपा एमालेको माधवकुमार नेपाल समूहको समर्थन थियो ।
बादलले भने एमालेको केपी शर्मा ओली पक्षसँगै राष्ट्रिय प्रजातन्त्र पार्टीको समर्थन पाएका थिए। नेपाल मजदुर किसान पार्टीले आफै उम्मेदवारी दिएको थियो भने विवेकशील साझा पार्टीले मतदानमा भाग नलिने निर्णय गरेको थियो।
वाग्मती प्रदेशसभाका १०५ सदस्यले मतदान गरेकामा देवकोटाले ५८, बादलले ४५ र नेपाल मजदूर किसान पार्टीका कृष्णबहादुर तामाङले २ मत पाए ।
त्यस्तै वाग्मती प्रदेशका स्थानीय तहका प्रमुख र उपप्रमुख गरी २३३ जनाले मतदान गरेकामा देवकोटाले १२८, बादलले १०३ र तामाङले २ मत पाए ।
राष्ट्रियसभा निर्वाचनमा स्थानीय तहका जनप्रतिनिधिको मतभार १८ र प्रदेशसभा सदस्यको मतभार ४८ रहेको छ ।