काठमाडाैं- बागमती प्रदेशबाट राष्ट्रिय सभा सदस्य उपनिर्वाचनमा विजयी भएका डा खिमलाल देवकोटाले अब स्थानीय तह र प्रदेशको मुद्दा उठाउने बताएका छन्।
विजयी भएपछि प्रतिक्रिया दिँदै उनले राजनीतिक दलको समर्थनमा स्वतन्त्र नागरिकले निर्वाचन जितेर इतिहास रचेको भन्दै स्थानीय तह र प्रदेशको मुद्दा राष्ट्रिय सभामा उठाउने बताएका हुन्।
‘हामीले इतिहास रचेका छौं। यो मेरो मात्र जित होइन। स्वतन्त्र रुपमा कलम चलाउने, बहस गर्नेहरुको पनि जित हो’ उनले भने। उनले आफूलाई विजयी गराउन सर्मथन र प्रस्ताव गर्नेका साथै मतदिने सबैलाई निरास नहुने गरि भूमिका निभाउनेसमेत बताए।
उनले सर्मथन गर्ने नेपाली कांग्रेस र मत दिने माओवादी केन्द्रलगायत सबैलाई धन्यवाद समेत दिए। संयुक्त गठवन्धनका तर्फबाट उम्मेदवार बनेका देवकोटा विजयी हुँदा नेकपा (एमाले)का तर्फबाट उम्मेदवार रहेका रामबहादुर थापा बादल पराजित भएका हुन्।
एमाले उम्मेदवार बादललाई हराएका देवकोटाले ५ हजार ८८ मतभादर पाएका छन्। बादलले ४ हजार १४ मतभार पाए। यस्तै, नेपाल मजदुर किसान पार्टीका तर्फबाट उम्मेद्वार बनेका कृष्णबहादुर तामाङले १३२ मतभार पाए।