काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीले दलहरूलाई नयाँ सरकार गठन गर्न दिएको समय आज (शुक्रबार) अपराह्न ५ बजे सकिँदैछ।
बिहीबार साँझ विज्ञप्ति जारी गरी राष्ट्रपति भण्डारीले संविधानको धारा ७६ (५) अनुसार संसदमा बहुमत जुटाउन सक्ने सांसद प्रधानमन्त्री बन्न सक्ने गरी नयाँ सरकार गठन गर्न दलहरूलाई आह्वान गरेकी हुन्।
प्रधानमन्त्री ओलीले राजीनामा नगर्दै र संसदमा विश्वासको मत नलिँदै एकैचोटि धारा ७६ (५) मा प्रवेश गर्नु संविधानविपरीत भएको भन्दै कानुनविद्ले आपत्ति जनाइरहेका छन्। यो फेरि प्रतिनिधि सभा विघटन गर्ने षडयन्त्र भएको उनीहरूको आरोप छ।
गत वैशाख २७ गते प्रधानमन्त्री ओली विश्वासको मत लिन असफल भएपछि पहिलो विकल्प संविधानको धारा ७६ (२) अनुसार विपक्षी दलले बहुमतको सरकार गठन गर्न सकेनन्।
त्यसपछि दोस्रो विकल्प धारा ७६ कै उपधारा ३ अनुसार संसदमा सबैभन्दा ठूलो दलको संसदीय दल (एमाले) को नेताको हैसियतमा ओली नै पुनः प्रधानमन्त्री भए।
त्यस दिनदेखि गनेर ३० दिनभित्र फेरि प्रतिनिधि सभामा उनले विश्वासको मत लिनुपर्ने थियो। नलिने हो भने उनले राजीनामा गर्नुपर्थ्यो। तर यी दुवै नगरी एकैचोटि २४ घण्टासमेत समय नदिई राष्ट्रपतिले हतारहतार विज्ञप्ति जारी गरी दलहरूलाई नयाँ सरकार गठनका लागि आज अपराह्न ५ बजेसम्मको समय दिएकी छन्।