काठमाडौँ- सत्ता सङ्घर्ष रोचक मोडमा पुग्दा नेकपा एमालेका नेता माधवकुमार नेपाल प्रधानमन्त्रीको मुख्य दाबेदार बनेका छन् । ओली विरोधी गठबन्धनले नेपाललाई प्रधानमन्त्रीका रूपमा अगाडि सार्ने अवस्थामा थप एमाले सांसदहरूले साथ दिने वचन दिएको बुझिएको छ ।
यथास्थितिमा नेपाल समूहमा २० प्रत्यक्ष र ८ समानुपातिक गरी २८ जना खुलेका छन् । यसअघि नेपाल समूह छाडेका सांसदहरू पनि उनीसँग सम्पर्कमा रहेको र ४० भन्दा बढीले साथ दिने वचन दिइसकेको विश्वस्त स्रोतले जानकारी दिएको छ । अहिले माधव नेपाल समूहले हस्ताक्षर सङ्कलन गरिरहेको छ ।
आफ्नो समूहमा ४० भन्दा बढी सांसद सङ्ख्या पुगेमा नेपाल समूहले सांसदबाट राजीनामा दिने नभई गठबन्धनको प्रधानमन्त्रीकै दाबी गर्ने भएको छ । यो सङ्ख्याको साथ लिएर राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध महाभियोग लगाउने देखि प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वासको प्रस्ताव समेत दर्ता गर्ने तयारी भएको छ ।
प्रतिनिधिसभामा २७५ सदस्य सङ्ख्यामध्ये ४ निलम्बित र ४ सिट खाली छ । कुल २६७ मा काँग्रेसका ६१, माओवादी केन्द्रका ४९ र जसपाको उपेन्द्र यादव समूहका १६ गरी १२६ सदस्य सङ्ख्या पुग्छ ।
माधव नेपाल समूहले ४० सांसद पुर्याउन सके १६६ सदस्य सङ्ख्या पुग्छ । अन्य दलका सांसदलाई समेत साथ लिएर अगाडि बढ्ने रणनीतिका साथ ओली विरोधी गठबन्धन आक्रामक रूपमा लागेका छन् ।