काठमाडौ- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफूले प्रतिनिधिसभामा कायम सदस्य संख्याको स्पष्ट बहुमतसहित प्रधानमन्त्रीमा दावी प्रस्तुत गरेको बताएका छन् ।
त्यसअनुरुप राष्ट्रपतिले आफूलाई तत्काल प्रधानमन्त्री नियुक्त गर्नुपर्नेमा त्यसो नगरेको भन्दै उनले आपत्ति जनाएका छन् । प्रेस विज्ञप्ति जारी गरी देउवाले राष्ट्रपतिबाट आह्वान भए बमोजिम आफूले १ सय ४९ जना सांसदका हस्ताक्षर पेश गरेको बताएका हुन् ।
देउवाले भनेका छन्, ‘राष्ट्रपतिले गरेको आह्वानको आधारमा मैले प्रतिनिधि सभामा तत्काल कायम रहेका सदस्य संख्याको स्पष्ट बहुमत सहित १४९ जना माननीय सांसदहरुको हस्ताक्षर सहित प्रधानमन्त्रीका लागि दावी प्रस्तुत गरेँ । नेपालको संविधान बमोजिम राष्ट्रपतिले मलाई तत्काल प्रधानमन्त्रीमा नियुक्त गर्नु पर्नेमा त्यसलाई इन्कार गर्नुभयो ।’
बरु एकपटक प्रतिनिधि सभाबाट विश्वासको मत लिन असफल भई संसदमा स्पष्ट अल्पमतमा परिसकेका र अर्को पटक बहुमत देखाउन नसक्ने स्वयं घोषणा गरी सकेका माननीय ओलीलाई प्रधानमन्त्री नियुक्त गर्ने काम गरिन् । ’यो सरकार गठनपछि निरन्तर रुपले गैर- संवैधानिक र अलोकतान्त्रिक गतिविधि गर्दै लोकतान्त्रिक मूल्य, मान्यताको अवमूल्यन तथा संसदीय पद्धतिको खिल्ली उडाउने काम भएको देउवाको आरोप छ ।
उनले भनेका छन्, ‘नेपालको संविधानको अक्षर र भावनाअनुसार माननीय ओलीले प्रधानमन्त्रीका लागि दावी गर्न नसक्ने प्रष्ट अवस्था हुँदाहुँदै त्यस्तो गैर संवैधानिक दावीलाई स्वीकार गरी पुनः उनलाई नै प्रधानमन्त्री तोक्ने कार्य असंवैधानिक मात्र होइन अनैतिक पनि हो ।’राष्ट्रपति र प्रधानमन्त्रीले संविधान जस्तो सार्वजनिक दस्तावेजलाई निजी सम्पत्तिका रुपमा आफू अनुकूल प्रयोग गरिरहेको देउवाले बताएका छन् ।
‘प्रधानमन्त्रीले हठात् अर्को सरकार गठनको सिफारिश गर्ने, राष्ट्रपतिले २४ घण्टाको पनि समय नदिई प्रधानमन्त्री नियुक्तिको आह्वान गर्ने, संविधान बमोजिम नियुक्त गर्नुपर्ने म प्रतिनिधि सभाका सदस्यलाई नियुक्त गर्नु पर्ने र दावी नै गर्न नमिल्ने माननीय ओलीलाई प्रधानमन्त्री नियुक्त गर्ने कार्य घोर असंवैधानिक, अलोकतान्त्रिक, अधिनायकवादी र सर्वसत्तावादी कार्य हुन्,’ देउवाको विज्ञप्तिमा भनिएको छ ।
संघीय लोकतान्त्रिक गणतन्त्र र संविधानको रक्षार्थ राष्ट्रपति र प्रधानमन्त्रीका असंवैधानिक, अलोकतान्त्रिक कार्यका विरुद्ध राजनैतिक र न्यायिक लडाई लड्ने देउवाले बताई सकेका छन् ।