काठमाडौं- नेकपा एमालेले आफ्ना ११ जना सांसदसँग स्पष्टीकरण सोधेको छ। शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको स्थायी कमिटीको बैठकले ११ जना सांसदसँग स्पष्टीकरण सोधेको प्रवक्ता प्रदीपकुमार ज्ञवालीले जानकारी दिए।
माधवकुमार नेपाल, झलनाथ खनाल, भीम रावल, मुकुन्द न्यौपाने, रामकुमारी झाँक्री, कल्याणी खड्का, सरला यादव, पुष्पा कर्ण, लक्ष्मी चौधरी, कालिला खातुन र निरा जैरुलाई स्पष्टीकरण सोधिएको उनले बताए।
‘कम्युनिस्ट आन्दोलनलाई कमजोर गराउन, कम्युनिस्ट पार्टीको नेतृत्वमा रहेको सरकार गिराउन र त्यसको ठाउँमा जोसँग हामीहरुको लगातार प्रतिस्पर्धा छ, उसलाई सरकारमा पुर्याउन जे जस्ता गतिविधि यसबीचमा भए, त्यसको गम्भीरतापूर्वक समीक्षा गरिएको छ। त्यसको निष्कर्षको आधारमा खासगरी आफ्नो पार्टीका अध्यक्ष, दलका नेता र प्रधानमन्त्रीलाई पदबाट हटाउन विपक्षी दलहरुसँग मिलेर हस्ताक्षर गरेर सरकारबाट हटाउने जुनखालका गतिविधि भए त्यसका संलग्नहरुलाई स्पष्टीकरण सोध्ने निर्णय गरिएको छ,’ बैठकपछि ज्ञवालीले भने।
कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन एमालेका माधव नेपाल पक्षका २६ सांसदले हस्ताक्षर गरेका थिए। तीमध्ये कतिपयले हस्ताक्षर गरेको छैन भनेका, कतिपयले नेपाललाई प्रधानमन्त्री बनाउने सर्तमा हस्ताक्षर गरेका र कतिपयले अगाडि बेग्लै प्रयोजनका लागि गरिएको हस्ताक्षर दुरुपयोग भयो भनेर भनेकाले अरुलाई स्पष्टीकरण नसोधिएको उनले बताए।
स्पष्टीकरणको जवाफ दिनका लागि पर्सि बिहानसम्मको समय दिइएको ज्ञवालीले बताए।