काठमाडौं– काठमाडौंका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) काली प्रसाद पराजुलीले कोरोना भाइरस संक्रमणको ‘चेन ब्रेक’का लागि लागू गरिएको निषेधाज्ञा पूर्ण रुपमा कार्यान्वयन भएको बताएका छन्।
बुधबार काठमाडौंको नागढुंगा नाका अनुगमन गर्दै प्रमुख जिल्ला अधिकारी पराजुलीले अत्यावश्यक बाहेकका सवारी साधन नचलेको भन्दै निषेधाज्ञा पूर्ण रुपमा कार्यान्वयन भएको बताए। उनले जेठ १४ गतेदेखि २० गतेसम्म काठमाडौं जिल्लामा निषेधाज्ञालाई कडाई गर्ने आदेश भएको सन्दर्भमा नागरिकहरु खानै नपाईने हो कि भनेर आत्तिनुपर्ने अवस्था नरहेको दाबी गरे।
बिहान बेलुकी छाक टार्न नै समस्या पर्नेहरुका लागि काठमाडौं महानगरपालिकासँग समन्वय गरेर राहत उपलब्ध गराउने प्रवन्ध मिलाएको सीडीओ पराजुलीले बताए। ‘आपत् विपत परे काठमाडौं महानगरपालिकासँग समन्वय गरेर वडा कार्यालय मार्फत् त्यस्तो व्यक्तिहरुलाई राहत उपलब्ध गराउने प्रवन्ध पनि मिलाएका छौं,’ उनले भने, ‘कोही पनि व्यक्ति भोकले मर्नुपर्ने अवस्था हुँदैन। ठाउँठाउँमा दाल, चामल उपलब्ध गराउने प्रवन्ध पनि गर्छौ।’
समस्यामा पर्नेले सम्बन्धित वडा तथा नगरपालिकामा अथवा नेपाल प्रहरीको १०३ सम्पर्क नम्बरमा फोन गरेर समस्या राखे समाधान गरिने पनि उनले बताए। सरकारी संयन्त्र खाद्य संस्थान र साल्ट ट्रेडिङमार्फत् विक्रि वितरणको व्यवस्था मिलाउने उनले उल्लेख गरे।
‘जुन नगरपालिकाका नागरिक त्यस्तो आपत् विपत्मा पर्नुहुन्छ, उहाँहरुको सम्बन्धित वडा अध्यक्ष, नगरपालिकाको मेयरसित सम्पर्क राख्ने व्यवस्था गर्नुभयो भने यो समस्याबाट समाधान हुन्छ। भोकले नै मर्ने स्थिति आयो भने प्रशासनलाई खबर गर्नुभयो भने हामी सरकारी संयन्त्र पनि छ, खाद्य संस्थान, साल्ट्र ट्रेडिङ कर्पोरेशन त्यो संस्थान मार्फत् हामी सँग पर्याप्त मौज्दात छ। विक्रि वितरणको व्यवस्था हामी मिलाउँछौं,’ उनले भने, ‘कुनैपनि नागरिकलाई चामल किन्न, दाल किन्न पाइएन। हामी भोकले मर्ने स्थिति आयो भन्ने अवस्था सिर्जना हुन दिदैनौँ त्यस्तो भ्रममा नपर्न अनुरोध छ। कोही भोकले मर्नै आट्यो अथवा खाद्यान्न किन्न पाइएन भने १०३ मा फोन गर्नुभो भने पनि हामी त्यसको व्यवस्थापन गर्नेछौं।’