काठमाडौं- कोरोना संक्रमितको जीवनरक्षामा जुटेका स्वास्थ्यकर्मी भिडबाट असुरक्षित भएका छन् । महामारीमा अथक संघर्ष गरेका भेरी अञ्चल अस्पतालका डाक्टर र नर्सहरूमाथि बिहीबार साँझ एक समूहले सांघातिक हमला गरेको छ ।
ज्यान जोगाउन डाक्टर र स्टाफ नर्सले एक तलामाथिबाट हाम फालेका छन् । एक साताअघि पूर्वको विराट मेडिकल कलेजमा पनि स्वास्थ्यकर्मीमाथि आक्रमण भएको थियो। यो खबर आजको नयाँ पत्रिका दैनिकले छापेको छ।
नेपालगन्जस्थित भेरी अस्पतालमा उपचाररत दाङको तुल्सीपुर उपमहानगरपालिका– ११ का ५१ वर्षीय डिल्लीबहादुर रावतको मृत्यु भएपछि आफन्तले स्वास्थ्यकर्र्मीमाथि हातपात गर्नुका साथै अस्पतालमा तोडफोड गरेका हुन् । गत ४ जेठमा अस्पतालमा भर्ना भएका कोरोना संक्रमित रावतको बिहीबार राति करिब साढे आठ बजे मृत्यु भएको थियो।
त्यसलगत्तै बिरामीका आफन्तले अस्पतालमा तोडफोड गर्नुका साथै चिकित्सक र स्टाफ नर्समाथि आक्रमण गरेको अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा.प्रकाशबहादुर थापाले बताए । ‘लाठीसहित आक्रमण गर्न आउनुभयो । एक तलामाथिको झ्यालबाट हाम फालेर साथीहरूले ज्यान जोगाउनुभयो,’ उनले भने, ‘धन्न हाम फालेको ठाउँमा बालुवा थियो, त्यसैले केही भएन ।’ आक्रमणकारीहरूले अस्पतालको झ्याल–ढोकाका सिसा फुटाएका छन् ।
एक्कासि आक्रमण सुरु भएपछि उपचारमा व्यस्त चिकित्सक र स्टाफ नर्सहरूको भागाभाग भएको थियो । चार चिकित्सक र नर्सले माथिल्लो तलाको झ्यालबाट हाम फालेर ज्यान जोगाए । केही स्वास्थ्यकर्मीलाई आक्रमणकारीले लखेटेर कुटपिट गरे । ज्यान जोगाउन शौचालयमा लुकेका पिपिई लगाएका नर्सहरूलाई उनीहरूले घाँटी अठ्याउने र लात्तीले हानेको अस्पताल प्रशासनले जनाएको छ।