काठमाडौं- मन्त्रिपरिषद बैठकले बजेट ल्याउनका लागि अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ।
आज विहान बसेको मन्त्रिपरिषद बैठकले बजेट ल्याउनका लागि अध्यादेश जारी गर्न राष्ट्रपतिलाई सिफारिस गरेको महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री जुली महतोले बताइन्।
संसद् भंग गरिएको संकटपूर्ण घडीमा अध्यादेशबाट बजेट ल्याउन नहुने भनेर विपक्षी दललगायत विभिन्न पक्षबाट खबरदारी भइरहेका बेला सरकारले आज ४ बजेट सार्वजनिक गर्दैछ।
हरेक वर्ष वार्षिक बजेट विधेयकको रुपमा संसदबाट ल्याउनुपर्ने व्यवस्था भए पनि अहिले प्रतिनिधि सभा विघटन भएकाले सरकारले अध्यादेशमार्फत ल्याउन लागेको हो। जेठ १५ मा बजेट ल्याउनु पर्ने संवैधानिक बाध्यता रहेको छ।
सरकारले आउँदो आर्थिक वर्षका लागि १६ खर्ब रुपैयाँको बजेट ल्याउने भएको छ। नेपालको संविधानमा जेठ १५ गते अर्थमन्त्रीले संसद्मा आगामी आर्थिक वर्षको आय/व्ययको अनुमानित विवरण (बजेट) प्रस्तुत गर्नुपर्ने व्यवस्था छ।
तर, पूर्वअर्थमन्त्री, राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्षहरु तथा अर्थविदहरुले संसद् नरहेको र कामचलाउ सरकार भएको अवस्थामा जेठ १५ मै बजेट ल्याउन अनिवार्य नभएको बताउँदै आएका छन्।
उनीहरुले वर्तमान सरकारले पूर्ण बजेट ल्याउन नमिल्ने, नयाँ कार्यक्रम समावेश गर्न नपाउने तथा करका दरहरु परिवर्तन गर्न नपाउने सुझाव दिए पनि सरकारले अध्यादेशमार्फत नै पूर्ण बजेट ल्याउने तयारी गरेको हो।
सरकारले बजेटमा आगामी चुनावलक्षित कार्यक्रमहरु ल्याउने संकेत गरेको छ। शुक्रबार प्रधानमन्त्रीले गरेको सम्बोधनमासमेत त्यो संकेत देखिएको थियो।