गोरखा- नेपालकै एक मात्र रबर उद्योगका रुपमा रहेको गोरखकाली रबर उद्योग पुर्ण रुपमा बन्द हुँदा यसको अस्तित्व नै संकटमा परेको छ । गोरखा नगरपालिका १४ मझुवामा ६ सय रोपनीमा सञ्चालित रहेको रबर उद्योग २०७१ चैत २३ देखि बन्द छ ।
विगतमा केहि दिन संचालनमा आएपनि उद्योगको लागत खर्च बढेसँगै पुजीको अभाबमा उद्योग बन्द हुन पुगेको हो । वर्षदेखि उत्पादन बन्द भएको उद्योग सञ्चालनमा ल्याउन सरकारले विभिन्न कालखण्डमा पहल थाल्यो । तर पनि बन्द भएको ७ बर्षसम्म सञ्चादनमा आउन सकेन ।
अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक बर्ष २०७७÷७८ को बजेट भाषणमा यो रबर उघोग सञ्चालनमा ल्याउने बताए । उनले निजि क्षेत्रको साझेदारीमा यो उघोग चलाउने घोषणा त गरे तर स्थानीय भने यो उघोग सञ्चालनमा आउनेमा आशावादी छैनन् ।
किन बन्द भयो उद्योग
चालु पुजीको अभाव, दक्ष कर्मचारीको अभाव न्युन, उत्पादन क्षमता, चर्को ब्याजदर लगायतका कारणले उद्योग विगतदेखि समस्यामा पर्दै आएको थियो । बजेट अभावमा समयमै कच्चा पदार्थ किन्न नसक्नु, मजदुरको बन्द हडताल लगायत उत्पादनले बजारमा प्रतिस्पर्धा गर्न नसक्ने अवस्था आएपछि उद्योग पुर्ण रुपमा बन्द हुन पुगेको छ ।
टायर उत्पादनका लागि उद्योगलाई आवश्यक पर्ने कच्चा पदार्थहरु भारत लगायत तेस्रो देशबाट आयात गर्नुपर्ने भएकोले पनि लागत बढ्दै गएको थियो ।
उद्योगले उत्पादन गरेका टायरहरू विदेशबाट आयातीत टायरसँग प्रतिस्पर्धा गर्न नसक्दा उद्योगको उत्पादन पूर्ण रूपमा ठप्प रहेको छ ।
गोरखकाली रबर उद्योगमा सरकारको ३८ प्रतिशत लगानी छ । त्यस्तै २१ प्रतिशत समुदाय र बाँकी साल्ट टे«डिङलगायतका संस्थान र बैंकहरूको लगानी छ । उद्योगमा सरकार, समुदाय, संस्थान र बैंकहरू गरी २८ करोड लगानी रहेको छ ।
उद्योगका सामान बिग्रिदै
उद्योग सञ्चालनमा नरहेपछि बिग्रिने र हराउने समस्या हुन थालेको छ । उद्योगमा जडान गरिएको सिसिक्यामेरा बिग्रँदा सामग्रीहरू असुरक्षित भएका हुन् । सामग्रीहरूसमेत बिग्रिन थालेका छन् । लामो समयसम्म उद्योगका सामग्री प्रयोगमा नल्याउँदा खिया लाग्ने, बिग्रने र जाम हुन लागेका छन् ।
२०४९ मंसिर २९ मा स्थापना भएको टायर उद्योग सञ्चालनको लागि पटक–पटक प्रयास भएपनि बन्द हुँदा संचित नोक्सानी १ अर्ब ५० करोड भन्दा बढि रहेको छ । २२ वर्ष सञ्चालनमा रहेको उद्योगले इतिहासमा एकपटक मात्रै नाफा कमाएको थियो ।
पटक–पटक बन्द हुँदै सञ्चालनमा आउँदै गरेको यो उद्योग २०७२ सालको भूकम्पपछि भने पूर्ण रुपमा बन्द भएको थियो । बन्द उद्योग फेरि बिउँताउने वा सधैँका लागि बन्द गर्ने भन्नेमा वेलावेला चर्चा चल्दै आएको छ ।
गण्डकी प्रदेश सरकारको योजना, ३ बर्षसम्म पूरा भएन
आर्थिक बर्ष २०७५/७६ को गण्डकी प्रदेश सरकारले उद्योग घाटामा जानुको कारण पत्ता लगाएर फेरि सञ्चालनमा ल्याउनुपर्ने बताएको थियो । तर, केन्द्र सरकारले भने उद्योग मन्त्रालयका सहसचिव शोभाकान्त पौडेलको संयोजकत्वमा अर्थ र उद्योग मन्त्रलायका प्रतिनिधिसहित ५ सदस्यीय कार्यदल बनाएर अध्ययन गरी सुझाव दिन भनेको थियो । कार्यदलले सरकारलाई कर्मचारीलाई अवकाश दिन सुझायो । उद्योगले २४ घन्टामा ६ सय २४ थान ट्रकटायर र ननट्रक टायर उत्पादन गर्ने क्षमता राख्थ्यो ।
बन्यो चुनावी एजेन्डा, तर सञ्चालनमा आएन
यो उघोग सञ्चालनका लागि तत्कालिन प्रधानमन्त्री बाबुराम भट्टराईदेखि माओवादी केन्द्रका प्रवत्ता नायाराणकाजी श्रेष्ठ, तत्कालिन स्थानिय विकास मन्त्री हितराज पाण्डे, नेपाली कांग्रेसका नेता सुरेन्द्र पाण्डे, प्रतिनिधि सभाका सांसद हरिराज अधिकारी, सांसद चुणमणी खड्का, गण्डकी प्रदेश सभाका सांसदहरू लेखबहादुर थापामगर, रामशरण बस्नेत, हरिशरण आर्चाय, प्रकाशचन्द्र दवाडी, गोरखा नगरपालिकाका मेयर राजनराज पन्थ समेतले यो उघोग जसरी पनि सञ्चालन गरी छाड्ने अठोट लिएका थिए ।
तर, उनीहरूले निर्वाचनमा चुनावी एजेन्डाका रूपमा उघोगलाइ अगि सारे । तर, कहिल्यै फलोअपु गरेनन् । तर, पूर्वप्रधानमन्त्री भट्टराइदेखि गोरखाबाट निर्वाचित जनप्रतिनिधिले उघोग सञ्चालनमा ल्याउन विभिन्न चरणमा संसदमा आवाज उठाएपनि सम्बोधन हुन भने सकेको छैन् ।
गोरखाका मेयर पन्तका योजना, बोलीमा मात्र समिति
गोरखा नगरपालिकाका मेयर पन्तले गोरखकाली रबर उघोग सञ्चालन गर्न तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर ध्यानाकर्षण गराएका थिए । तर, प्रधानमन्त्री देउवाले समेत खासै वास्ता नगरेकाले मेयर पन्त के गर्ने भन्ने विषयमा अन्योलमा परे । मेयर पन्तले देउवा मार्फत उघोग सञ्चालनमा ल्याउन आग्रह गरेका थिए । तर उनले पनि सकेन् ।
‘प्रधानमन्त्रीज्यूसंग भेटेर रबर उद्योग पुनःसंञ्चालनमा ल्याउनुप¥यो, सघाउनुहोस् भनेको छु’ उनले तत्कालिन समयमा भनेका थिए, ‘उद्योगमन्त्री नै नभएको अवस्था रहेकाले उद्योग संचालन गर्नेबारे पर्याप्त छलफल तथा योजनाहरु बनाउन पाएका छैनौं।’ तर उद्योग संचालन गरि छाड्ने मेयर पन्तको भनाइ छ।
रबर उद्योग रहेको क्षेत्रमा अन्य उद्योगहरु पनि संचालन गर्न सकिने भएकाले उद्योग परिसरमा सेज स्थापना गर्नुपर्ने उनले बताएका थिए । उद्योग संचालन गरेपछि रोजगारीको सिर्जना हुने र बेरोजगारी समस्या केही हदसम्म भएपनि अन्त्य हुने मेयर पन्तको बिश्वास थियो।
त्यसपछि मेयर पन्त उघोगका विषयमा बेखबर छन् । उनी विभिन्न कार्यक्रम देखि स्थानिय स्तरमा हुने कार्यक्रममा सारिक हुदै समय खर्च गर्दै आएका छन् । उघोग सञ्चालन गरि छाड्ने योजना काहाँ पुग्यो मेयर ज्यू ?
विभिन्न समयमा मन्त्रालयकको टोलीले उघोग सञ्चालन गर्न सक्ने भन्दै प्रतिवेदन प्रेस गरेको भएपनि केहि प्रगति हुन सकेको छैन । स्थानिय निर्वाचनमा गोरखा नगरपालिका मेयर पन्तले आफ्नो मुल्य लक्ष्य नै उघोग सञ्चालनमा ल्याउने भन्दै भाषण गरेको भएपनि अहिले मेयर पन्त चुपचाप छन् ।
सांसद आचार्य पनि सो उघोग सञ्चालनमा ल्याउने दावी गरेका थिए । तर, उनी पनि अहिले खासै चासो दिएका छैन् । गोरखाका सांसद या जनप्रतिनिधि यहि रबर उघोगलाइ चुनावी एजेन्डा बनाउदै सांसद, मन्त्री समेत भए तर रबर उघोग जहिले सुतिरहेको छ । नेपालमा सवारी साधनको आयात बढिरहेको समयमा टायरको मागसमेत उच्च थियो । तर, स्वदेशी उद्योग धरासायी बनाएर आयातित उद्योग प्रबर्द्धन गर्ने नियतका साथ यो उद्योग बन्द गराइएको हो ।
राजनीतिक दलले आफ्ना कार्यकर्ता भर्ना गर्ने थलोका रुपमा प्रयोग गरी यो उद्योगलाई थला पारिएको हो । २०४१ सालमा शिलान्यास भएको उद्योगले उत्पादन भने २०५१ सालबाट थालेको हो। यो उद्योग स्थापनामा चीनले सहयोग गरेको हो ।
तस्बिर : नविनबाबु गुरूङ