काठमाडौं- उपत्यकाका प्रमुख जिल्ला अधिकारीको बैठकमा जारी निधेधाज्ञाबारे समीक्षा गरेका छन्।
आज काठमाडौं, भक्तपुर, ललितपुरका प्रमुख जिल्ला अधिकारीको भर्चुअल बैठकले महामारी नियन्त्रणमा आइनसकेकाले केही खुकुलो गर्दै थप एक हप्ता निषेधाज्ञा लम्ब्याउने निष्कर्ष निकालेको छ।
खाद्यान्न र किराना पसलहरु खोल्न दिने विषयमा छलफल भएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले नेपालखबरलाई बताए।
‘निषेधाज्ञाको विषयमा आज कुनै निर्णय भएको छैन,’ पराजुलीले भने, ‘भोली पुन: बैठक बसेर यस विषयमा निर्णय लिन्छौं। खद्यान्न पसल खोल्ने विषयमा छलफल अघि बढेको छ।’ अघिल्लो साता खाद्यान्न पसल बन्द गर्ने निर्णय भएको थियो।
कस्तो छ काठमाडौं उपत्यकाको अवस्था ?
मंगलबार सङ्क्रमण पुष्टि भएकामध्ये सबैभन्दा धेरै काठमाडौं जिल्लाका छन्। काठमाडाैंका १ हजार ०६० जनासहित भक्तपुरका २१५ जना र ललितपुरका २८३ जना गरी उपत्यकामा १,५५८ जना सङ्क्रमित थपिएका छन्।
नेपालका ७७ मध्ये ४८ जिल्लामा अहिले ५०० भन्दा धेरै सक्रिय सङ्क्रमित रहेका छन् भने थप १३ जिल्लामा २०० भन्दा बढी सक्रिय सङ्क्रमित रहेका छन्। केही दिनदेखि ओरालो लागेको काठमाडौं उपत्यकाको संक्रमण मंगलबारदेखि पुनः उकालो लागेको छ ।