गोरखा- कोरोना भाइरसको महामारी फैलिएको गोरखाको बारपाकको अवस्था अझै सामान्य भएको छैन । गाउँमा रुघाखोकी र ज्वरोका बिरामी अझै धेरै छन् । दोस्रो लहरमा २७५ जनामा संक्रमण पुष्टि भएकोमा ५६ जना संक्रमणमुक्त भएका छन्, सक्रिय संक्रमितमध्ये अधिकांश होम आइसोलेसनमा छन् ।
कोरोना भाइरस संक्रमणसँग मिल्दोजुल्दो लक्षण भएका बिरामी बढ्ने र दिनहुँजसो मानिसहरुको मृत्यु हुन थालेपछि गत शुक्रबार गण्डकी प्रदेशबाट विशेषज्ञसहितको चिकित्सक टोली बारपाक पुगेको थियो । उक्त टोली तीन दिन बसेर फर्किसकेको छ ।
त्यस अवधिमा उनीहरुले १ हजार ३५६ जनाको कोरोना परीक्षण गरे । ९६४ जनाको एन्टिजेन परीक्षण गर्दा ८३ जनामा संक्रमण पुष्टि भयो भने पीसीआर विधिबाट ३४२ जनामा परीक्षण गर्दा १३० जनामा कोरोना पुष्टि भएको थियो । पीसीआर परीक्षणका लागि स्वाब दिएका ५० जनाको रिपोर्ट आउन अझै बाँकी छ ।
कोरोना महामारी तीब्र रुपमा फैलिरहेको बारपाकका बिरामीका लागि १० थान अक्सिजन कन्सन्ट्रेटर प्रदान गरेको छ । माउण्टेन हर्ट नेपाल नामक गैरसरकारी संस्थाले सो अक्सिजन कन्सन्ट्रेटर बारपाकका लागि उपलब्ध गराएको हो ।
गण्डकी गाउँपालिकाका प्रताप अधिकारीको बिशेष पहलमा नेपाली कांग्रेसका जिल्ला सभापति हरिबहादुर घले र संस्थाका अध्यक्ष डा. अवन गौतमले सो सामग्री वडा सदस्य रामप्रसाद गुरुङलाई हस्तान्तरण गरेका हुन् ।
सो अक्सिजन कन्सन्ट्रेटर बारपाकसम्म ल्याउन बारपाक सुलीकोट गाउँपालिकाले हेलिकोप्टर चार्टर गरेको घलेले जानकारी दिए ।
सो अक्सिजन कन्सन्ट्रेटर आवश्यकताको आधारमा बारपाक सुलीकोट गाउँपालिकाको अन्य वडाहरुमा पनि पठाउने समझदारी भएको सभापति घलेले जानकारी दिए । अहिले सबै अक्सिजन कन्सन्ट्रेटर बारपाक स्वास्थ्य चौकीमा राखिएको घलेले जानकारी दिए ।