काठमाडौं- नेकपा एमाले फुटबाट जोगिन चमत्कार नै हुनुपर्ने भएको छ । फुट रोक्न अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली पूर्ववत् निर्णयहरुबाट ब्याक हुन तयार भएपनि माधव नेपाल पक्ष आश्वस्त हुन सकेको छैन । बरु यसलाई ओलीको अर्को ‘फण्डा’का रुपमा लिएको छ ।
नेपाल निकट एक नेताले अब ओलीको कुनैपनि अस्त्रबाट नअलमलिने बताएका छन् । उनले भने,‘ओलीले यसअघि पनि यस्तै आश्वासन दिदै पेल्दै जाने नीति अपनाएको थिए, यो त्यसैको अर्को रुप मात्र हो ।’
माधव नेपालनिकट नेता राजेन्द्र राईले पनि सहमतिको सम्भावना टरिसकेको बताएका छन् । उनले एमाले एकताका लागि भएका वार्तालाई व्यक्तिगत वार्ताको संज्ञा दिए ।
ओलीले शर्तसहित ब्याक हुने प्रस्ताव नेता माधव नेपाललाई पठाएपनि त्यसबाट नअलमलिने सन्देश बालुवाटारमा पुगेको छ । तर, सुरेन्द्र पाण्डे, गोकर्ण बिष्ट र घनश्याम भुसाल भने सहमतिका लागि भन्दै बालुवाटार र कोटेश्वर दौडिइरहेका छन् ।
एमालेका प्रवक्ता प्रदीपकुमार ज्ञवालीले कार्यदलको उपादेयता नरहेको र अनौपचारिक माध्यमबाट छलफल चलिरहेको बताइरहेका बेला दोस्रो पुस्ताका नेता नियमितजसो संवादमा छन् ।
सोमबार साँझ पनि दुवैतर्फका नेताहरू सघन संवादमा जुटे । प्रधानमन्त्री केपी ओलीका तर्फबाट सुवास नेम्वाङ, अर्थमन्त्री विष्णु पौडेल, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र खनाल–नेपाल समूहका घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट, योगेश भट्टराईबीच झण्डै पाँचघण्टा वार्तालाप भयो । विवाद मिलाएर एकता बचाउने अनौपचारिक समझदारी जुट्यो ।
स्रोतका अनुसार प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओली जेठ २ मा फर्कन तयार रहने तर माधवकुमार नेपाल समूहले यसबीचमा गरेका गतिविधि फिर्ता लिएर सार्वजनिकरूपमा आत्मआलोचित हुनुपर्ने ‘शर्त–बन्देज’ अघि सारेका छन् ।