काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले आज (आइतबार) मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका छन्।
शुक्रबार मन्त्रिपरिषद पुनर्गठन गरेयता प्रधानमन्त्रीको जिम्मामा ७ मन्त्रालय छन्। ति मन्त्रालयमा मन्त्री नियुक्ति गर्ने तयारी प्रधानमन्त्री ओलीले गरेका हुन्।
बालुवाटार स्रोतका अनुसार आज उनले एमाले र माओवादी केन्द्रबाट आफ्नो पार्टीमा आएका नेताहरूलाई मन्त्री बनाउने सम्भावना छ।
यसअघि मन्त्रिपरिषद् पुनर्गठन गर्दा पनि प्रायः नयाँ अनुहार भित्र्याएका ओलीले अहिले पनि नयाँ व्यक्तिलाई मन्त्री बनाउन सक्ने सम्भावना रहेको स्रोतको दावी छ ।
स्रोतका अनुसार माओवादी केन्द्रले कारबाही गरेका, प्रदेश सांसद पद गुमेकाहरूलाई प्राथमिकतामा राखिएको छ। प्रदेश नं २ की ज्वालाकुमारी साह मन्त्री हुने लगभग निश्चित भएको स्रोतको दाबी छ।
यस्तै एमालेबाट महेश बस्नेत र नारदमुनि राना थारु मन्त्री हुने सूचीको अग्रपंक्तिमा छन्। स्रोतका अनुसार पूर्व माओवादीको रामबहादुर थापा अाफैं फेरि गृहमन्त्री बन्दैछन् भने उनकाे समूहबाट तीनजना सम्म मन्त्री हुने सम्भावना छ । त्यसका लागि प्रदेश सभामा माओवादीले कारबाही गरेर संसद पद गुमेकाहरुलाई प्राथमिकतामा राखिएको छ ।