काठमाडौं- गण्डकी प्रदेशका सांसद कृष्ण थापा पदमुक्त भएका छन्। शुक्रबार बसेको प्रदेश सभाको बैठकमा सभामुख नेत्रनाथ अधिकारीले उनलाई पार्टीको सिफारिशमा पदमुक्त गरिएको सूचना पढेर सुनाएका हुन्।
बिहीबार प्रदेश सभामा मुख्यमन्त्रीले विश्वासको मत लिने प्रस्तावमा राष्ट्रिय जनमोर्चाका सांसद थापा तटस्थ बसेका थिए। उनी पार्टी निर्णयविपरित तटस्थ बसेका कारण उनलाई पार्टीले कारबाही गरेको हो।
नेपाली कांग्रेस र माओवादी केन्द्रसहितको विपक्षी गठबन्धनमा रहेको जनमोर्चाले गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको विपक्षमा मतदान गर्ने निर्णय गरेको थियो। तर थापा भने विपक्षी गठबन्धनको विरुद्ध उभिँदै आएका छन्।
पार्टीले थापालाई पदमुक्त गर्न भनी गरेको सिफारिशअनुसार सभामुख नेत्रनाथ अधिकारीले उनलाई पदमुक्त गरिएको पत्र सभाको बैठकमा पढेर सुनाएका हुन्। तर सत्तारुढ दल नेकपा एमालेका प्रमुख सचेतक मायानाथ अधिकारीले भने त्यसप्रति असहमति जनाएका छन्।
उनले सभामुख कुनै पार्टीको गुरिल्ला बनेको आरोप लगाए। उनी पदमुक्त भएपछि अब प्रदेश सभामा कायम रहेको संख्या घटेको छ। उनको पद गएसँगै सरकार बनाउन ३० जना सभासद हुँदा पुग्नेछ।
यसअघि नै मन्त्री दिपक मनाङेले मुख्यमन्त्री गुरुङलाई साथ नदिने भनी घोषणा गरेका थिए। उनले विपक्षी गठबन्धनलाई साथ दिने भनेपछि गठबन्धन बलियो बनेको छ। विपक्षीले मुख्यमन्त्रीको उम्मेदवारको रुपमा अघि सारेका नेपाली कांग्रेसका कृष्णचन्द्र पोखरेल नेपालीको संभावना अहिले अझ सहज भएको छ।
कृष्ण थापा समेत पदमुक्त भएपछि सदनमा बहुमत हासिल गर्नुपर्ने संख्या कम भएको हो। यसअघि पनि थापालाई पार्टीले कारबाही गरेपछि उनी त्यसविरुद्ध सर्वोच्च अदालत गएका थिए। अदालतले अन्तरिम आदेश जारी गर्दै उनलाई काम कारबाही गर्नबाट नरोक्न भनेको थियो।
त्यसविरुद्ध थापाले विपक्षी बनाएका जनमोर्चा पार्टीका नेता र सभामुख अधिकारी अदालतमा सो आदेश बदर गर्न माग गर्दै पुनः सर्वोच्च पुगेका छन्। त्यसबारे सुनुवाइका लागि अदालतले दुवै पक्षलाई सोमबार अदालतमा बोलाएको छ।
कृष्णचन्द्र मुख्यमन्त्री बन्ने लगभग निश्चित, को हुन् उनी ?
नेपाली कांग्रेसको गण्डकी संसदीय दलका पोखरेल नवलपरासी पूर्व (क) बाट प्रत्यक्ष निर्वाचित सांसद हुन् । ७१ वर्षीय पोखरेल पञ्चायतकालदेखि नै राजनीतिमा सक्रिय छन् । उनका बुबा प्रजातन्त्र सेनानी थिए ।
२००६ साल मंसिर १३ गते तनहुँमा जन्मेका पोखरेल २०२८ सालबाट कांग्रेस राजनीतिमा प्रवेश गरेका हुन् । थर पोखरेल भए पनि उनी नामपछाडि ‘नेपाली’ लेख्ने गर्छन् । उनी विभिन्न आन्दोलनमा ५-६ पटक जेल परेका छन् । उनले भारतको दरभंगाबाट मानविकी र त्रिभुवन विश्वविद्यालयबाट कानूनमा स्नातक गरेका छन् । २०४८ सालपछि उनी लगातार चार कार्यकाल कांग्रेस नवलपरासीको सभापति भएका थिए । कांग्रेसको १२ औं महाधिवेशनबाट उनी केन्द्रीय सदस्य बने ।
२०७० सालको प्रतिनिधिसभा चुनावमा नवलपरासी क्षेत्र नं. ३ बाट चुनाव लडेका उनी २ सय २५ मतले हारेका थिए । २०७४ सालको प्रदेश सभा निर्वाचनमा एमाले-माओवादी गठवन्धनका उम्मेदवार सूर्यप्रसाद न्यौपानेलाई ३ सय ८२ मतल पराजित भई पोखरेल गण्डकी प्रदेशसभामा निर्वाचित बनेका थिए ।