पाेखरा- प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिनिधि सभा विघटन गर्ने कदमले गण्डकी प्रदेश सरकारको नेतृत्वमा कांग्रेस पुग्ने भएको छ। संसद् विघटन गर्ने प्रधानमन्त्रीको कार्यबाट एकत्रित भएका विपक्षी गठबन्धनको बलियो रुप गण्डकीमा देखिएको छ।
विपक्षी गठबन्धनको बलियो सम्बन्ध भएकै कारण एमाले सत्ताबाट बाहिरिनुपर्ने स्थिति आएको छ। विपक्षी गठबन्धनलाई फुटाउने मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको पहलले सार्थकता प्राप्त गर्न नसकेपछि विपक्षी दलको सरकार बन्ने भएको छ।
३९ महिना प्रमुख प्रतिपक्ष रहेको कांग्रेसलाई माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा), राष्ट्रिय जनमोर्चा र स्वतन्त्र सांसदको समर्थन रहने भएको छ। वैशाख २ बाट मुख्यमन्त्रीको दाबी गरेका नेपाली कांग्रेसका सांसद कृष्णचन्द्र नेपाली पोखरेल दुई महिनापछि सत्ताको बागडोर सम्हाल्ने स्थानमा पुग्न लागेका हुन्।
विपक्षी गठबन्धनका उम्मेदवार नेपालीलाई गण्डकी प्रदेशको मुख्यमन्त्री बनाउन समर्थन गर्ने ३१ सांसदको हस्ताक्षर सनाखत भएको छ। ६० सदस्यीय प्रदेश सभाका बहुमत सदस्य उनको पक्षमा देखिएका छन्।
विपक्षी गठबन्धनका तर्फबाट अघि सारिएका कांग्रेस संसदीय दलका नेता पोखरेललाई कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा र एक स्वतन्त्र सांसद दीपक मनाङेसहित ३१ जनाले हस्ताक्षर गरी बुझाएका हुन्। उनीहरुको हस्ताक्षर प्रदेश प्रमुख सीता पौडेलको कार्यालयले सनाखत गरेको छ।