भच्चेक- बेरोजगारलाई रोजगार दिन सरकारले जिल्लाका सबै स्थानीय तहमा बजेट पठाएपछि अजिरकोट गाउँपालिकाले बेरोजगार युवाहरूलाई बेरोजगार फर्म भर्न आह्वान गर्याे । गाउँपालिकाले प्रकाशित सूचनाका आधारमा बेरोजगार फर्म भर्नेको सख्या १४४१ रह्यो। करिब १७ हजार जनसंख्या रहेको अजिरकोटमा १० प्रतिशतले मात्र यो फर्म भरे ।
प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तरगत बेरोजगारलाई रोजगार दिन सरकारले अजिरकोटमा २३ लाख बजेट पठाएको थियो । बेरोजगारी सूचीमा दर्ता भएकालाई ३० दिन बराबरको रोजगार दिन परिपत्र समेत आयो ।
सरकारले प्रत्येक परिवारका एकजना सदस्यलाई एक वर्षमा कम्तीमा सय दिन रोजगारी उपलब्ध गराउने र रोजगारी दिन नसके बेरोजगार भत्ता दिने निर्णय यस अघि नै गरेको थियो । नेपालको संविधानले नागरिकको मौलिक हकका रूपमा प्रत्याभूत गरेको रोजगारीको हकलाई कार्यान्वयन गर्न ‘सबैका लागि रोजगार संवैधानिक अधिकार’ भन्ने मूल नारासाथ सरकारले ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’ को शुभारम्भ गरेको हो ।
कामका लागि पारिश्रमिकमा आधारित सामुदायिक आयोजना (सञ्चालन तथा व्यवस्थापन) कार्यविधि स्वीकृत भएको भन्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले बजेट कार्यान्वयनका लागि सबै स्थानीय तहलाई निर्देशन दियो । त्यही कार्यविधिका आधारमा गाउँपालिकाले आन्तरिक स्रोत व्यवस्थापन गदै आर्थिक वर्ष २०७६/७७ मा १५ लाख रकम विनियोजन गरेको थियो । त्यसैका आधारमा गाउँपालिकाले पर्यटकीय स्थलका रूपमा रहेका क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटक आकर्षक गर्नका लागि एक समूहमा १० जनाका दरले निमार्ण कार्य गरिरहेको छ । यो साइटमा अहिले करिब १५० जनाले काम गदैंछन् । यो पैदल मार्ग अजिरकोट–धार्चे गाउँपालिको सिमानासम्म पुग्छ ।
गाउँपालिकाले आर्थिक वर्ष २०७५/७६ मा निम्चे पोखरी तथा नागे पोखरीमा धर्मशाला बनाउने, पाटी पौवाका साथ बास बस्नका लागि वैकल्पिक आवास गृहसमेत बनाएको थियो । प्रधानमन्त्री रोजगार कार्यक्रममा अन्य स्थानीय तहमा नाली तथा सडक निमार्णमा लगाएको भन्दै विरोधका आवाजहरू आई रहेका बेला अजिरकोटले पर्यटकीय पैदल मार्ग निर्माण गरेको हो ।
निम्चे–नागेपोखरी पैदल मार्ग प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत सञ्चालन भएका हो भने धनपते–नारदपोखरी गाउँपालिकाले छुटाएको आन्तरिक बजेटबाट निर्माण कार्य भएको हो । यो कार्यक्रम चाहिँ ज्यालादारी गरी बिहान बेलुका खान नपुगेका मजदुरका लागि सञ्चालन भएको हो । विशेष गरी कोरोना महामारीमा प्रभावित अजिरकोटका विपन्न वर्ग यो कार्यक्रम अन्तर्गत समावेश भएका कार्यक्रम हो । हरेक १० जनाको समूहमा एक दक्ष कामदार सहित पैदल मार्गको काम भइरहेको गाउँपालिकाले जनाएको छ ।
धनपते-नागेपोखरी, निम्चे पाेखरी-नारदपाेखरी पैदल मार्ग निमार्णका लागि गाउँपालिकाले दुई भागमा विभाजन गरी काम सुरु गरेको छ । आर्थिक वर्ष २०७५/७६ मा समेत काम गरेको गाउँपालिकाले निर्माण कार्य नसकिएमा आर्थिक वर्ष २०७७/७८ मा समेत बजेट थप्ने निर्माण कार्य सक्ने योजना रहेको गाउँपालिकाका अध्यक्ष फण्न्द्रि धिताल बत्ताउँछन् ।
‘प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत र हामीले कोरोना प्रभावित मजदुरका लागि निम्चे–नारदपाेखरी, धनपते–नागेपोखरी पैदल मार्ग निमार्ण गरिहरेका छौँ,’ उनले भने ‘कार्यक्रम दुई भागमा विभाजन गरी निमार्ण कार्य भएको छ । यहाँ अहिले एक भागमा ७५जना कामदार हुनुहुन्छ भने आर्को भागमा ६५ जना हुनुहुन्छ । हामीले खास गरी दुधपोखरी–नारदपोखरी तथा यस क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटक वृद्धि गर्नका लागि पैदल मार्ग गरेका हौँ ।’
गाउँपालिकाले भच्चेक–सिरानडाँडा–निम्चेपोखरी–नागेपोखरी–दुधपोखरी–नारदपोखरीसम्म पैदल मार्ग बनाउने अभियान चलाएको छ । जिल्लाका विभिन्न कुण्डहरूमध्येका कुण्ड निम्चेपाेखरी नागेपोखरी, दुधपोखरी, नारदपोखरी अजिरकाेटमा पर्छ । यही पर्यटकीय स्थलमा जान गाउँपालिकाले यस्तो योजना बनाएको हो ।
भौगोलिक हिसाबले विकट क्षेत्र रहेको यी भागमा ६० को दशकसम्म केयौं खर्क यहाँ हुन्थे । उँधौलीमा खर्क जाने र उँधौलीमा फाँट झर्ने यहाँ परम्परा नै थियो । वैदेशिक रोजगार तथा सडक सञ्जालको पहुँच पुगेपछि खर्क बस्ने चलन लोप भएको स्थानीय गुणराम पौडेल बत्ताउँछन् ।

तस्बिर : राज तामाङ/अजिरकाेट
हरेक जनै पूर्णिमा मेला लाग्ने यस ठाउँ भौगोलिक हिसाबले विकट हो । भच्चेक हुँदै निम्चे पुग्न ३ घण्टा लाग्छ । निम्चे हुँदै तपी, म्हिदु, हुँदै नारदपोखरी पुग्न १२/१३ घण्टा लाग्छ । तर यो क्षेत्रमा जान धार्चेबाट भन्दा अजिरकोटबाट छिटो र सजिलो हुने स्थानीय खर्क बस्नेहरू बत्ताउँछन् ।
गाउँपालिकाले यो क्षेत्रका विभिन्न भागमा जानका लागि पैदल मार्गको समेत सर्वेक्षण गरेको थियो । त्यही प्रतिवेदनका आधारमा यो पैदल मार्ग निमार्ण गरिएको हो । गाउँपालिकाका अनुसार २०७८ फागुनसम्म यो पैदल मार्गको काम सकिने छ ।
गाउँपालिकाले तिन भागमा विभाजन गरी काम गरिरहेको छ । एक भाग अन्तर्गत धनपते-निम्चे पोखरी, नाम्चे-नागेपाेखरी र नागेपाेखरी-नारदपाेखरी पैदल मार्ग निर्माण गरेको हो । यो पैदल मार्ग निर्माण भएपछि हरेक वर्ष जनैपूणिमाका दिन लाग्ने मेलामा जाने भक्तजनहरू सहज हुने गाउँपालिकाको अनुमान छ ।