काठमाडौं– नेकपा माओवादी केन्द्रका प्रवक्ता नारायणकाजी श्रेष्ठले निर्वाचन आयोगले सरकारको कठपुतली बनेर लोकतन्त्रको धज्जी उडाउने काम गरिरहेको आरोप लगाएका छन्। संवैधानिक आयोगको यस्तो कार्य लज्जास्पद र भर्त्सनायोग्य रहेको उनको टिप्पणी छ।
जसपाबारेको आयोगको पछिल्लो निर्णयमा यो स्पष्ट भएको उनले उल्लेख गरेका छन्।
‘नेकपाको बारेमा पनि यस्तै गरिएको थियो। अहिलेको राजनीतिक अस्थिरता र संकटको कारण त्यो पनि पनि हो’ मंगलबार श्रेष्ठले सामाजिक सञ्जालमा लेखेका छन्।
तर राजनीतिक दलहरुले आफू प्रत्यक्षरुपमा प्रभावित नबन्दासम्म नबोल्ने र तमासे बन्न नहुने उनको भनाइ छ। उनले संवैधानिक अंगको यसप्रकारको गलत कार्यलाई रोक्न लोकतन्त्रपक्षधरहरु मिल्नु पर्ने बताएका छन्।
‘राजनीतिक पार्टीहरु आफ्नो प्रत्यक्ष स्वार्थ वा हितसँग नजोडिदासम्म नबोल्ने वा तमासे बन्ने स्थिति अन्त्य गर्नुपर्छ। लोकतन्त्र पक्षधर सबै मिलेर संवैधानिक अङ्गको यसप्रकारको गलत कार्यलाई समयमै रोकिहाल्नु पर्छ’ श्रेष्ठले भनेका छन्।