पाेखरा- गण्डकी प्रदेश सरकारले आगामी वर्षका लागि ३० अर्ब ३ करोड ९४ लाख २७ हजार रुपैयाँकाे बजेट प्रस्तुत गरेकाे छ ।
मुख्यमन्त्री कृष्णचन्द्र पाेखरेलले आज गण्डकी प्रदेश सभामा गत वर्षकाे भन्दा ४ अर्ब सानाे बजेट प्रस्तुत गरे । जसमा चालुतर्फ ४३.५ प्रतिशत र पुँजीतर्फ ५५.७ प्रतिशत, वित्तिय व्यवस्थापनमा ०.८ प्रतिशत छ ।
याे बजेटमा नेपाल सरकारबाट वित्तिय समानीकरण अनुदान वापत गण्डकी प्रदेशले ७ अर्व ४२ करोड पाएको छ । यस्तै ससर्त अनुदानमा ४ अर्ब १८ करोड ४३ लाख, विशेष अनुदानमा ५४ करोड ९० लाख, समपुरक अनुदानमा ८७ करोड ३६ लाख रुपैयाँ आएको छ ।
कोरोना उपचारलाई उत्कृष्ट बनाउने, अस्पतालहरूको स्तरोन्नति गर्दै स्वास्थ्य बीमा कार्यक्रमलाई सम्बोधन गरेको छ । यसैगरी बजेटमा कोरोनाबाट प्रभावित क्षेत्रलाई पनि प्राथमिकता दिइएको छ ।
महिलाको स्तन, पाठेघरको क्यान्सर र आङ खस्ने समस्याको नि:शुल्क उपचार गराउने, बेवारिसे बालबालिकाको संरक्षण र जेष्ठ नागरिकलाई पनि संबोधन गरेको छ । पर्यटन, पूर्वाधार, कृषि, खेलकुदलाई पनि बजेटले प्राथमिकता दिएको छ ।
खारेज भएन सांसद विकास कोष
निकै आलोचित सांसद विकास कोष संघ सरकारले यसपालिको बजेटबाट खारेज गरेको छ । प्रदेशमा पनि सांसदमार्फत हुने विकास कार्यक्रम खारेज हुने अपेक्षा थियो । तर मंगलबार सार्वजनिक बजेटले भने त्यस्तो कार्यक्रम निरन्तर हुने घोषणा गरेको छ ।
मुख्यमन्त्री पोखरेलले आउँदो आव २०७८/७९ का लागि मंगलबार बजेट प्रस्तुत गर्दै निर्वाचन क्षेत्र विकास कार्यकमबारे सुनाए । उनले निर्वाचन क्षेत्र विकास कार्यक्रम परिमार्जनसहित लागु गर्न बजेटको व्यवस्था गरेको सुनाए ।
३६ वटा निर्वाचन क्षेत्र रहेको गण्डकीमा यसअघिको सरकारले प्रत्येक निर्वाचन क्षेत्रका लागि २/२ करोडका दरले बजेट छुट्याएको थियो ।कोभिड महामारीलाई ख्याल गर्दै सांसद विकास कोष भनेर चिनिने उक्त कार्यक्रम खारेज हुने अपेक्षा थियो ।
पूर्णपाठ
सम्बन्धित समाचार
गण्डकीकाे बजेटमा गाेरखा : आँपपिपल अस्पताललाई ५० शैय्या
स्थानीय तहलाई १ अर्ब १० करोड अनुदान, प्रत्येक पालिकालाई १ करोड