काठमाडौं-धितोपत्र बोर्डले इन्साइडर कारोबार तथा सेयर कर्नरिङ गरी मूल्य बढाएको आशंकामा ५१ कम्पनीमाथि छानविन गर्ने भएको छ ।
विगत १ वर्षको अवधिमा सूचिकृत संस्थाको सेयर मूल्य ३ सय प्रतिशतले वृद्धि भएका , प्रति सेयर आम्दानी ऋणात्मक भएका , अंकित मूल्यभन्दा नेटवर्थ कम भएका आधारमा ५१ सूचिकृत संगठित संस्थाहरूमा भित्री कारोबार र सेयर कर्नरिङ भएको आशंका धितोपत्र बोर्डले गरेको छ ।
‘सेयर मूल्य बढ्नु पर्ने केही आधारभूत पक्षहरु हुन्छन्, केही कम्पनीहरुको सेयर मूल्य बढ्नु पर्ने खास कारण नभए पनि बढाइएको पाइएको छ’ प्रतिवेदनमा भनिएको छ ।
अध्ययनले ५१ कम्पनीहरुमा लगानी गर्न जोखिमयुक्त रहेको देखाएको बोर्ड अध्यक्ष भिष्मराज ढुंगानाले जानकारी दिए । यी कम्पनीहरुमा इन्साइडर ट्रेडिङ, सेयर कर्नरिङ लगायतका कारण बढेको अध्ययनले देखाएको छ । बोर्डले ५१ कम्पनीको सूची सार्वजनिक गर्दै लगानीकर्ताहरुलाई यी कम्पनीहरुमा लगानी गर्न सचेत गराएको छ ।
पछिल्लो समय सेयर बजारमा निकै ठूलो कारोबार हुने गरेको छ । अहिलेको अवस्था हेर्दा लगानीकर्ताहरुले धितोपत्र बजारलाई गरेको विश्वासले गर्दा कारोबार रकममा ऐतिहासिक रेकर्ड स्थापना कायम भई करीव २० अर्ब नजिक पुगेको बोर्डले बताएको छ ।