पाेखरा- राहतसहित मनाङ पुगेका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलको टोली मौसम खराबीका कारण चामेमा रोकिएको छ।
मनाङमा बाढी पीडितका लागि राहत लिएर मुख्यमन्त्री पोखरेलसहितको टोली आज हेलिकप्टरमार्फत चामे पुगेको थियो।
गृह मन्त्रालयको समन्वयमा व्यवस्थापन भएको नेपाली सेनाको हेलिकप्टरमा मुख्यमन्त्री पोखरेल, मनाङबाट निर्वाचित सांसद तथा मन्त्री राजीव गुरुङ (दिपक मनाङे), मनाङका सांसद चिन्तबहादुर घलेसहित रहेका थिए।
उनीहरु प्रभू एयरको हेलिकप्टरमा पोखरा फर्किने कार्यक्रम थियो। नेपाली कांग्रेस संसदीय दलका नेता पोखरेल जेठ २९ गते प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका थिए । उनले (भाेली) असार ४ गते संसदमा विश्वासको मत लिने कार्यक्रम तय भएकाे छ।
प्रदेश प्रमुख सीता कुमारी पौडेलले उनलाई संविधानको धारा १६८ (५) बमोजिम मुख्यमन्त्रीमा नियुक्त गरेकी थिइन् । संविधानको धारा १६८(५) बमोजिम नियुक्त मुख्यमन्त्रीले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान अनुसार पोखरेलले विश्वासको मत लिने तयारी गरेका हुन् ।