गोरखा- उत्तरी गोरखाको सल्लेरीका बाढी पहिरो पिडीतलाई जनता समाजबादी पार्टी (जसपा)ले सहयोग सामाग्री प्रदान गरेको छ ।
जसपा गोरखाका जिल्ला उपाध्यक्ष राजेन्द्र पराजुलीले काठमाडाैंबाट हेलीकप्टर मार्फत सहयोग सामाग्री सल्लेरीमा पु¥याएर बाढी पहिरो पिडितलाई सहयाेग गरेका हुन् ।
पराजुलीले आफ्नै खर्चमा सिम्रीक एयरको हेलीकप्टर मार्फत सल्लेरीका बाढी पहिरो पिडीतलाई त्रिपाल ४० थान, २८ प्याक चाउचाउ, म्याट्रेस ३ रोल, २ हजार थान माक्स, त्रिपाल डोरी १ बोरा र विभिन्न राहत सामाग्री वितरण गरेका हुन् ।
यसअघि बिहिबार बिहानै डब्लुएफपीका कर्मचारीको उद्धार गर्न गएको हेलिकोप्टरमा ४७ थान त्रिपाल मगाइएको स्थानीय बलबहादुर गुरुङले जानकारी दिए ।
अबिरल बर्षापछिको बूढीगण्डकी नदीको बाढी सल्लेरी गाउँमा पस्दा स्थानीय सुन्दर गुरुङ, सूर्य गुरुङ, राम गुरुङ र लक्ष्मण गुरुङको घर बगाएको थियो । साथै उच्च जोखिममा रहेका गणेश गुरुङ, कमल गुरुङ, धनकुमारी गुरुङ, इन्द्रबहादुर गुरुङ, थर्पती गुरुङ पनि बिस्थापित भएका थिए ।
जताततैको पहिरोले बाटोघाटो बन्द भएपछि सदरमुकाम तथा आरुघाट बजारबाट त्रिपाललगायतका राहत सामग्री पु¥याउन पनि कठिन भएको थियो । गाउँपालिकाले बुधबार आठ थान त्रिपाल उपलब्ध गराए पनि पर्याप्त हुन सकेको थिएन । बाढीका कारण सल्लेरीमा रहेको नेपाली सेनाको सडक निर्माण कार्यदलको क्याम्प पनि बिस्थापित भएको छ ।