काठमाडौं- संसद्को दुईतिहाइसहित इतिहासको सबैभन्दा शक्तिशाली प्रधानमन्त्री मानिएका केपी ओलीले संसद्मा सामान्य बहुमत पनि जुटाउन सकेनन् । तीन वर्षअघि बनेको दल खण्डित भएपछि ओलीले आफ्नै साबिकको दल एमालेलाई पनि एकीकृत राख्न सकेका छैनन् ।
संसद् विघटनको आदेशदेखि ओलीले ल्याएका एकपछि अर्को अध्यादेशहरूलाई असंवैधानिक भन्दै सर्वोच्च अदालतले सिलसिलेबार रूपमा खारेज गर्दै आएको छ ।
यसरी आफ्नै दललाई खण्डित गरेका, संसद्को विश्वास विधिवत् रूपमा गुमाएका र संवैधानिक नैतिकता सर्वस्व पारेका प्रधानमन्त्री ओली मूलतः निकै कमजोर भइसकेका छन्, तैपनि उनलाई पदमा बसिराख्न कुन शक्तिले उक्साइरहेको छ?
नेपालका पूर्वप्रधानमन्त्रीहरूले त इसारा मात्र गरेका छन्, भारतस्थित कूटनीतिक जानकारहरूले त यसमा ओलीका पछाडि भारत सक्रिय रहेको लेख लेखिरहेकाे खबर आजको नयाँ पत्रिका दैनिकमा पर्शुराम काफ्ले र दिपेश शाहिले लेखेका छन्।
भारतीय कूटनीतिज्ञका यस्ता विचार अखबारका ओप–एडमा मात्र होइन, विभिन्न बहस कार्यक्रममा पनि अभिव्यक्त भइरहेका छन् । दुवैतिरका कूटनीतिक मामलाका जानकारहरू ओलीले भारतीय गुप्तचर प्रमुख सामन्त गोयलसँग मध्यरातसम्म वार्ता गरेर जे मार्गचित्र बनाएका थिए, अहिले नेपाल त्यतैतर्फ गइरहेको छ।
त्यसको गन्तव्य नेपालका राजनीतिक दुर्घटना होला र छिमेकमा अस्थिरता प्रवद्र्धन गरेको आरोप भारतमाथि आउला भनेर त्यहाँका कतिपय भारतीय विश्लेषकहरू चिन्तित छन् ।
उनीहरूको विश्लेषणमा भारतको शक्तिमा नेपाली सत्ताले अघि बढाएको यो खेलले संवैधानिक संकट आउनेछ त्यसले ०७२ मा जारी नयाँ संविधानले संस्थागत गरेका ढाँचा जोखिमा पार्नेछ । ०७२ को संविधानमाथि भारतीय संस्थापनको अनुदार नजर छर्लंगै छ ।