काठमाडौं- नेपाली कांग्रेसको प्रमुख भ्रातृ संगठन नेपाल विद्यार्थी संघको दोस्रो अध्यक्ष हुन् शेरबहादुर देउवा । देउवापछि संघको नेतृत्वमा विमलेन्द्र निधि पुगे । जनकपुरमा भएको संघको महाधिवेशनबाट पार्टी नेता बिपी कोइरालाको प्रस्तावमै निधि संघको अध्यक्ष बनेको कांग्रेस नेताहरू बताउँछन्।
संघ हुँदै पार्टी राजनीतिमा सक्रिय रहेका देउवा र निधि सुरुमा कांग्रेसभित्रको फरक गुटमा थिए । देउवा कोइराला गुटसँग नजिक थिए भने निधि कृष्णप्रसाद भट्टराईसँग । तर पछि परिस्थितिले दुवै नेता एउटै समूहमा सहभागी भए।
कांग्रेसको २०५३ मा भएको महाधिवेशनमा गिरिजाप्रसाद कोइरालाविरुद्ध चिरञ्जीवी वाग्लेले सभापतिमा उम्मेदवारी दिए । २०५१ मै कृष्णप्रसाद भट्टराई, गणेशमान सिंहसहितका नेताहरूको प्रतिनिधित्व गर्दै कांग्रेसका ३६ सांसदले पार्टी नेता गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकार गिराउन भूमिका खेलेका थिए।
२०५७ को पोखरा महाधिवेशनमा फेरि गिरिजाप्रसाद कोइराला नै उम्मेदवार बन्ने भए । कोइरालाविरुद्ध भट्टराई पक्षबाट रामचन्द्र पौडेललाई सभापतिको प्रत्याशी बन्न आग्रह गरिएको बताउँदै निकट एक नेताले भने, ‘कोइरालाविरुद्ध उहाँ उम्मेदवार बन्न तयार नभएपछि शेरबहादुर देउवालाई हाम्रो समूहबाट सभापतिमा उम्मेदवार बनाएका हौं । त्यसपछि देउवा र निधि एउटै समूहमा मात्र होइन, एकअर्काको परिपूरकका रुपमा काम गर्दै आउनुभएको छ।’
देउवालाई सभापतिदेखि अहिलेको अवस्थामा पुर्याउन र निधिलाई उपसभापतिसम्मको जिम्मेवारीमा पु¥याउन दुवैको महत्वपूर्ण सहयोग र भूमिका रहेको उनले बताए। पार्टीको १३औं महाधिवेशनपछि भने दुई नेताबीचको सम्बन्धमा बिस्तारै चिसोपन आउन थालेको खबर आजको नागरिक दैनिकले छापेको छ।