काठमाडौं- नेकपा माओवादी केन्द्रले दल त्याग गरेका १७ केन्द्रीय सदस्य र १४ जनप्रतिनिधिलाई निष्कासन गरी निर्वाचन आयोगमा जानकारी गराएको छ ।
केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालका अनुसार सोमबार बसेको केन्द्रीय कमिटी बैठकले उनीहरुलाई निष्कासनको कारबाही गरेको हो । सो निर्णयसहित सोमबार दिउँसो दल दर्ता किताबमा रहेको विवरण सच्याउन आयोगमा पत्र पठाएको उनले जानकारी दिए ।
निष्कासनको कारबाहीमा परेका १७ जना केन्द्रीय सदस्यमा रामबहादुर थापा ‘बादल’, टोपबहादुर रायमाझी, लेखराज भट्ट, मणि थापा, प्रभु साह, गौरीशंकर चौधरीलगायत छन् ।
यसअघि नै कारबाहीको जानकारी गराए पनि निर्वाचन आयोगले केन्द्रीय समितिको निर्णय माग गरेपछि माओवादी केन्द्रले केन्द्रीय समितिबाट निर्णयसहित पठाएको हो ।
माओवादी केन्द्रले दल त्याग गरेर नेकपा एमाले प्रवेश गरेका स्थानीय तहका १४ जना जनप्रतिनिधिको पद रिक्त गराउन निर्वाचन आयोगमा विवरण बुझाएको केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालले जानकारी दिए ।