काठमाडौं- नेकपा एमालेको नेता घनश्याम भूसालले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले सरकार र पार्टी दुवै निकै लापरवाहीरुपमा सञ्चालन गरिरहेका छन् भन्ने कुरा अदालतका फैसलाहरुबाट प्रमाणित भएको बताएका छन्।
अदालतका पछिल्ला फैसलाहरुले ओलीले पार्टी र सरकार सञ्चालनमा कति लापरवाही गरिरहेका छन् भन्ने पुष्टि भएको सो समूहका एमाले नेता घनश्याम भूसालले बताए। उनले अदालतले गरेको निर्णय स्वभाविक भएको बताए।
‘एउटा नेताका लागि यो आदेश राजनीतिक रुपमा ठूलो पराजय हो,’ भूसालले भने, ‘अध्यक्ष तथा प्रधानमन्त्री ओलीले देश तथा पार्टी कति लापरवाहीरुपमा सञ्चालन गर्नुभएको छ भन्ने प्रमाणित भएको छ।’
भूसाल ओलीले सरकार र पार्टी सञ्चालन राम्रोसँग नगरेको भनी उनले पद त्याग गर्नुपर्ने माग राख्ने एमाले नेताहरु मध्येका एक हुन्।
प्रतिनिधि सभा विघटनपछि कामचलाउ भइसकेका प्रधानमन्त्रीले मन्त्रिपरिषद् विस्तार गरेपछि सो कदमलाई असंवैधानिक भन्दै अदालतमा रिट दायर भएको थियो।
मंगलबार सो रिटमाथि सुनुवाइ गर्दै सर्वोच्चले पछि थपिएका २० मन्त्री पदमुक्त हुने अन्तरिम आदेश दिएको हो। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र न्यायाधीश प्रकाशकुमार ढुंगानाको संयुक्त इजलासले उनीहरुलाई काम नगराउन आदेश गरेको छ।