काठमाडौं- जातका कारण डेरा नदिएको आरोपमा पक्राउ परेकी घरबेटी रिहा भएकी छिन्। बबरमहलकी स्थानीय सरस्वती प्रधानलाई रुपा सुनारको उजुरीको आधारमा प्रहरीले पक्राउ गरेको थियो।
तर, सरकारी वकिलको कार्यालयले प्रमाण नपुगेको भन्दै मुद्दा चलाउन अस्वीकार गरेपछि प्रधान बुधबार थुनामुक्त भएकी हुन्। प्रधान थुनामुक्त हुँदा त्यहाँ उपस्थित ठूलो समूहले नाराबाजी गरेको थियो।
प्रधानलाई स्वागत गर्न शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठ महानगरीय प्रहरी वृत्त सिंहदरबार पुगेका थिए। त्यसपछि मन्त्री श्रेष्ठले प्रधानलाई बा १ झ ८७६३ नम्बरको आफ्नै गाडीमा चढाएर प्रधानलाई बबरमहलस्थित उनकै घरमा लगेर छाडेका हुन्।
केही दिनअघि आफूलाई जातकै आधारमा डेरा नदिएको भन्दै सुनारले प्रधानविरुद्ध उजुरी दिएकी थिइन्।