आँपिपल अस्पतालको नाम सुन्नुभएको छ !
यो लेखको सुरुवात नै मैले प्रश्नमार्फत गरेँ किनभने यो अस्पतालले नेपालको स्वास्थ्य सेवाको त्यो विगत, यो वर्तमान अनि भविष्यको चित्र ‘देख्न चाहे’ प्रस्ट देखाउँछ।
आँपिपल अस्पतालबारे लेख्ने सोचेपछि मैले माइत त्यहीँ भएको मेरै आमालाई फोन गरेँ।
‘आमा, आँपिपलमा उपचार गराउँदाको तपाईँको अनुभव सुनाउनु त ?’
अलिक नसोचेको प्रश्नको जवाफ दिन परेपछि आमाले कारण सोध्दै भन्नुभयो – ‘त्यो अस्पताल नभएको भए आज हाम्रै धेरै आफन्त हुँदैन थिए होला कान्छा ।’
हो, यो अस्पताल यस्तै हजारौँको भावनात्मक सम्बन्ध जोड्ने एक अस्पताल हो।
आजभन्दा ५२ वर्ष अघि,
यो लेख पढिरहनुभएका तपाईँ हामी धेरै यहाँ नहुँदै युनाइटेड मिसन टु नेपाल नामक एक एनजिओले काठमाडौँबाट १५० किमी टाढाको ठाउँ गोरखा- आँपिपलमा एउटा सानो फार्मेसी खोलेर स्वास्थ्य सेवा प्रदान गर्न सुरु गर्यो।
१०२० मिटर उचाइमा रहेको यो ठाउँमा सेवा प्रदान गरेको थाहा पाएपछि लिनेको लाइन लाग्यो।
समय बदलियो।
सानो फार्मेसी अस्पतालमा बन्यो। सुविधा सम्पन्न भवनहरू बने। स्वयंसेवक बनेर जर्मनी-फ्रान्स देखि विशेषज्ञ चिकित्सक आएर बर्षौसम्म सेवा गरे। लमजुङ-तनहुँलगायत अन्य भेगका मान्छेहरू पनि सेवा लिन आए। उल्फार्ड स्टोर्के नामक जर्मनीका डाक्टरले १२ वर्षसम्म स्वयंसेवक भएर काम गरे।
आफ्नो नागरिकले अर्काको देशमा गएर गरेको त्यो सेवाभावबाट प्रभावित बनेर उनको जन्म देश जर्मनीले उनलाई ‘जर्मनी राष्ट्रपति अवार्ड’ प्रदान गर्यो। आफ्नो ऊर्जाशील समय नेपालका दुदराजका नागरिकलाई सेवा प्रदान गरेर बिताएका उनी आफ्नो बुढ्यौली बिताउन जन्मभूमि गए। सेवा गरेको देश नेपालबाट अनेकौँ कामना-प्रार्थना लिएर गए।
किनकि,
नेपालीसंग दिनलाई त्यो बाहेक अरू केही थिएन।
अझ,
२७ वर्षसम्म निरन्तर सेवा दिइरहेका विदेशी चिकित्सकलाई कति धन्यवाद पाए होला ! डाक्टर हेलेन लगभग दशकसम्म त्यही काम गर्ने अर्को विशेषज्ञ चिकित्सक हुन् । अस्पताललेसंगै देशको माहोलपनि परिवर्तन भयो। २०५८ सालमा अस्पताल सुरुवातकर्ता ‘युनाइटेड मिसन टु नेपाल’ले आधिकारिक रूपमै यो अस्पतालसंग आफ्नो सम्बन्ध अन्त्य गर्यो।
अनि,
सुरुवात भयो ‘अस्पताल विकास समिति’ नामको स्वदेशी समूह। युनाइटेड मिसनले छोडेपछि अस्पताललाई अत्यावश्यक सामान लगायत धेरै कुरामा ‘नेपाल मेड’ नामक संस्थाले सहयोग गर्न सुरु गर्यो। क्रम अहिले पनि जारी छ ।
‘ओहो, मिसन अस्पताल हुँदासम्म त मान्छेहरू पोखरा आसपासबाटसम्म आउँथे । खर्च पनि केही लाग्दैनथ्यो । बरु गोरेहरूले चाहिने अन्य सामान पनि दिन्थे । आजभोलि त बिरामी संख्या पनि कम भएको छ। अस्पताल पनि महँगो भएको रहेछ’, अस्पतालबारे बुझ्न मैले सम्पर्क गरेपछीसंगै जोडिएको गाउँ हरिभञ्ज्याङका एक स्थानीयले भने।
मामाघर पनि यहीँ नजिकै रहेको मैले यो कुरा सुनेपछि थप यथार्थ बुझ्न थालेँ। आर्थिक वर्ष २०७७/७८ को बजेटबाट गण्डकी सरकारले यो अस्पताललाई ५० शय्याको बनाउन लागेको समाचार पढेपछि यसको यथार्थ लेख्ने हुटहुटी अझ बढ्यो।
यस्तो गौरवमय अतीत भएको अस्पतालको वर्तमान पीडादायी नै रहेछ। १७ जना सरकारी कर्मचारीको दरबन्दी रहेको यो अस्पतालमा जम्मा दुई जना मात्र स्थायी कर्मचारी रहेछन् । अस्पताल विकास समितिबाट थप ३० जना कर्मचारी रहेछन् ।
एक एमडिजिपी, दुई मेडिकल अफिसरका कर्मचारी समिति अन्तर्गत नै भएकाले यो अस्पताललाई सरकारी भन्दापनी सामुदायिक भनेकै जाती हुने सेवाग्राहीले मलाई बताए।
‘सरकारी कर्मचारीहरू यहाँ टिक्नै सक्दैनन् । राजनीतिले नमज्जासँग गाँजेको छ यहाँ । सरकारी डाक्टरलाई काम गर्ने वातावरण नभएपछि यहाँ बस्नुभन्दा सरुवा लिनै सजिलो ठान्छन् । केही पहिले मात्र सरकारी एमडिजिपी डाक्टर आउनुभएको थियो, दुई महिनामै जानुभयो,’ती स्थानीयले भने ।
अहिले ठाउँ-ठाउँमा अस्पताल खुलेका र यो अस्पतालले समयक्रमसंगै आफलाइ त्यति अपग्रेड नगरेकाले आजभोलि औसतमा पचास(साठी बिरामी दैनिक आउने गरेको अस्पतालका एक कर्मचारीले बताए।
अस्पताल भवनहरू जापानी संस्था ‘जाइका’ले बनाइदिएको अनि मेसिन लगायत सामानहरू नगरपालिका मार्फत आउने र डाक्टर लगायतका कर्मचारीचाहिँ अस्पताल विकास समिति अन्तर्गत व्यवस्थापन हुने गरेको रहेछ।
१५ बेडको अस्पताल भनिएपनी क्षमता अलिक धेरैलाई धान्न सक्ने क्षमता अस्पतालको रहेछ। अहिलेको समयमा एक एमडिजिपी ,दुई मेडिकल अधिकृत ,पाटन अस्पतालबाट पढाइको क्रममा आएका दुई रेजिडेन्ट विद्यार्थी रहेको अस्पतालमामा आउने बिरामी लगभग सबै बिमा कार्यक्रम अन्तर्गत आउने रहेछन् ।
‘९० देखि ९५ प्रतिशत त बिमा गरेकै बिरामीहरू आउँछन् यस अस्पतालमा’ तत्कालीन समयमा कार्यरत एक डाक्टरले हामीसँगको कुराकानीमा भने ।
प्रदेश सरकारको ५० शय्याको अस्पतालमा रूपान्तरण गर्ने योजनासँगै यो कार्यको जस लिन राजनीतिक पार्टीबिच प्रतिस्पर्धा चलिरहेको छ। कार्यक्रमलाई सबै मिलेर सफल पार्नुपर्नेमा ‘कागजी उपलब्धि’को जस लिन मरिहत्ते गर्नुले राजनीतिक चरित्र पनि देखाउँछ।
अस्पताललाई बुझ्ने हर कोहीले यो योजना कसरी आइपुग्यो भन्ने जान्दछ।
गोरखा-२, का निर्वाचित प्रतिनिधि सभाका सांसद डाक्टर बाबुराम भट्टराईको आफ्नै नगरपालिका भएकाले पनि उनको यो अस्पतालसंग उनको छुट्टै भावनात्मक सम्बन्ध छ । हरेक पटक यहाँ आउँदा यो अस्पताललाई कसरी राम्रो बनाउन सकिन्छ भन्नेबारे उनले सरोकारवाला निकायसँग छलफल गरिरहन्थे।
सरकारी दरबन्दी नभईकन ५० शय्याको अस्पताल बनाउँदा जनशक्तिको अभावमा सेवा प्रदान गर्न अन्ततः असफल भइने उनको प्रस्ट बुझाइसँगै उनी अस्पतालमा स्थायी दरबन्दी ल्याउनुपर्नेमा जोड गर्थे। केन्द्र अनि प्रदेश सरकारसँग विभिन्न तहको छलफलमा आफ्नो यो योजनालाई केन्द्रमा राख्ने गरेको कुरा उनले सामाजिक सञ्जालमार्फत लेखिरहने शब्दहरूले पनि भन्थे। आफ्नो निरन्तरको यो प्रयासलाई उनले प्रदेशमा आफ्नोसहितको सरकार बने लगत्तैको बजेट भाषणमा यो योजना पारे।
यसमा कसैले दुई मत राख्छ जस्तो मलाइ लाग्दैन । भट्टराईको यो कार्यको प्रशंसा गर्दै गर्दा यदि अब यो कार्यक्रमले भने अनुसारको गति लिएन भने यसको प्रमुख जिम्मेवार पनि स्वयं भट्टराई नै हुनेछन् ।
किनकि, आफ्नै बलबुतामा यहाँसम्म ल्याएको योजनाको सफलता वा असफलतामा उनको नाम जोडिन्छ नै । प्रदेश सरकारको यो निर्णय लगत्तै ट्विटरमा भावनात्मक प्रतिक्रिया जनाएका बाबुराम भट्टराईलाई मेरा केही सुझाव छन् ।
तपाइँबाहेक अरूले यो गर्दैनन् भन्ने थाहै भएर नामै किटेर लेखेको छु।
-अस्पताल विकास समितिहरूले मूलतः राजनीतिक भागबन्डामा बनाइएको र देशै भरी ‘यस्तै त हो नि ब्रो’ भन्ने पारा रहेकाले सकेसम्म समितिलाई खारेज गर्न पहल गरेर सरकारी दरबन्दी अनुसारको कर्मचारी राख्ने प्रबन्ध गर्ने । यति नसके, राजनीतिक आग्रह पूर्वाग्रहलाई चाहिँ अस्पताल बाहिरै राख्ने कडा निर्देशन दिनुहुनेछ भन्ने अपेक्षा ।
-खाली भवनहरूले मात्र बिरामीलाई सेवा दिन नसक्ने भएकाले दरबन्दी अनुसारको कर्मचारी सधैँ राख्न जिम्मेवार निकायलाई दबाब दिइरहने।
-जनशक्ति अनुसारको अपरेसन गर्न चाहिने सामनहरुको कुनै अभाव नहोस् भनेर सचेत गराइराख्ने
-तपाइँ स्वयं पनि आफ्नो बुढेसकालमा आफ्नै जन्मघर फर्किन्छु भनेर तयारी गरिरहेको सन्दर्भमा यो अस्पतालको विकासका लागि यो स्तम्भकारभन्दा कयौंगुना चिन्ता चासो तपाईँलाई छ भन्ने मलाइ थाहा छ।
जे जस्तो उद्देश्यले आएपनी युनाइटेड मिसन अन्तर्गतको यो अस्पतालबाट हजारौँ ज्यान बचेका छन् । लाखौँले उपचार पाएका छन् ।
अनि,
जे जस्तो कारणले युनाइटेड मिसनले अस्पतालबाट हात झिकेपनी अब यो अस्पताललाई राम्रो अस्पताल बनाउने जिम्मेवारी हामी सबैको हो। अर्काले दिएको यो उपहारलाई हामीले सकुशल आगामी पुस्तालाई दिन सके कति गज्जब हुन्थ्यो। यो अस्पतालको स्थापना देखिको अहिलेसम्मका घटनाक्रमले नेपालमा अस्पताल लगायत अन्य संस्थाहरू कसरी बदलिए भन्ने नमुना देखाउँछ।
यो दुखत यथार्थलाई चिर्ने कि ‘हामी यस्तै त हो नि ब्रो’ भनिरहने ?
यति लेखिसकेपछि, यति पढिसकेपछि, गोरखा-लमजुङ-तनहुँ वा आसपास वा, यस्तै घटनाबारे जानकार हुनुहुन्छ भने प्रतिक्रिया लेख्नु न है !