काठमाडाैं– प्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सरकारको ऐतिहासिक कामका कारण नेकपा एमाले जनतामाझ झन् लोकप्रिय बन्दै गएको दाबी गरेका छन्।
बुधबार प्रधानमन्त्रीनिवास वालुवाटारमा एमालेको दशौँ महाधिवेशन आयोजक कमिटीको बैठकलाई सम्बोधन गर्दे उनले वर्तमान सरकारले ऐतिहासिक रुपमा अभूतपूर्व ढंगले विकास निर्माणको गतिलाई अघि बढाएका कारण जनतामा लोकप्रिय हुँदै गएको बताएका हुन्।
‘योजनाबद्ध दृष्टिकोणसहितको विकासको तीव्र आकांक्षा र त्यस आकांक्षालाई व्यवहारमा परिणत गर्ने हाम्रो प्रतिबद्धता र तदनुसारको क्रियाकलापहरुले हाम्रो पार्टी झन् बढी लोकप्रिय हुँदै अगाडि बढिरहेको छ,’ उनले भने।
बिमस्टेक, लगानी सम्मेलनलगायत अन्तर्राष्ट्रियस्तरका विभिन्न सम्मेलन गरेर ती सम्मेलनमा सही धारणा र विचार अघि सारेका कारण नेपालप्रति विश्वको ध्यानाकर्षण भएको उनको दाबी थियो।
‘राष्ट्रिय हित सार्वभौमसत्तालाई सम्बर्द्धन गरिरहेको र हाम्रा छिमेकी मित्रराष्ट्रहरुको सम्बन्धमा कतै असमझदारी पैदा भइहाल्यो भने त्यसलाई राष्ट्रिय हित, न्याय र अन्तर्राष्ट्रिय उत्तरदायित्वका आधारमा पारस्परिक लाभ र पारस्परिक सम्मानका आधारमा, सार्वभौम समानताका आधारमा मतभेद हटाउँदै लगेका थियौं,’ प्रधानमन्त्री ओलीले भने, ‘विकास गर्दे लगेका थियौं, इतिहासमा पहिले कहिल्यै नभएका ठूला-ठूला सकारात्मक लक्ष्यहरु प्रकट भएका थिए।’