गोरखा– गोरखामा बाँदरलाई भुलाउन जंगलमै फलफुल खेती सुरु गरिएको छ । जिल्लाका विभिन्न स्थानका कृषकलाई बाँदर आतङ्कबाट मुक्त गराउन डिभिजन वन कार्यालय गोरखाले जङ्गलमा फलफूलको बिरुवा रोप्ने कार्यक्रम ल्याएको हो ।
जिल्लाका विभिन्न पालिकाका सामुदायिक वनमा बाँदरका लागि फलफुल खेती सुरु गरिएको डिभिजन बन कार्यालय गोरखाका प्रमुख अशोक कुमार श्रेष्ठले जानकारी दिए ।
‘जंगलमा आहारा मासिदै गएपछि बाँदरले वस्तीमा छिरेर बाली नष्ट गर्न थालेकाले उनीहरुलाइ जंगलमै भुलाउन फलफूल खेती सुरु गरेको हो,’ उनले भने, ‘त्यसैले सामुदायिक वन उपभोक्ता समुह र डिभिजन वन कार्यालयको लागत साझेदारीमा जंगलमा फलफूल खेतीका लागि बिरुवा रोपेका हौँ ।’
मानव बस्ती नजिकै बाँदरले धेरै दुख दिने ठाउँ छनौट गरी फलफुल लगाइएको उनले बताए । उनक अनुसार फ्रुट फरेस्टी मोडल कार्यक्रम अन्तरगत जिल्लाका ४ वटा सामुदायिक वनमा बाँदरका लागि फलफूल खेती सुरु गरेको हो ।
कार्यक्रम अन्तरगत जिल्लाको धार्चे गाउँपालिका-५, गुम्दाको गुङगाङ सामुदायिक वनमा २ हेक्टर र पालुङटार नगरपालिका-९, को दरौंदीडाडा सामुदायीक वनमा २ हेक्टरमा फलफूलका बिरुवा रोपिसकिएको कार्यालय प्रमुख श्रेष्ठले जानकारी दिए ।
त्यस्तै, बारपाक सुलिकोट गाउँपालिका-४, सौरपानीको ठामपाखा सामुदायिक वनमा १ हेक्टर र गोरखा नगरपालिका १० को टक्सारटारी सामुदायिक वनमा १ हेक्टर क्षेत्रफलमा बिरुवा रोप्न बाँकी रहेको उनले बताए । यस कार्यक्रम अन्तरगत ९ हजार ६ सय विरुवा रोपिने उनको भनाइ छ ।
बादर आतंक रोक्नका लागि जामुन, चिउरी, लप्सी, लमला, हर्रो, बर्रो, अम्बा, अमरा, लगायतका बिरुवा सामुदायिक वनलाई उपलब्ध गराएको उनले जानकारी दिए । विरुवा रोपिएको ३ देखि ४ वर्षमा उत्पादन दिने उनको भनाइ छ ।