नेकपा एमालेका अध्यक्ष केपी ओलीले एकतर्फी रूपमा गठन गरेको दशौँ महाधिवेशन आयोजक कमिटी एकतर्फी रूपमै भंग गरेका छन् ।
यो निर्णयले एमालेको आन्तरिक विवाद समाधान गर्ने बलियो आधार बनाएको छैन । वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल समूहले आयोजक कमिटी भंग गर्ने ओलीको निर्णयको कुनै अर्थ नरहेको प्रतिक्रिया दिएको छ।
एमाले वरिष्ठ नेता माधव नेपालले प्याकेजमा सहमति नभएसम्म जे निर्णय गरे पनि कुनै अर्थ नहुने बताएका छन्। आजको नयाँ पत्रिका दैनिकले नेता नेपालको संक्षिप्त अन्तर्वार्ता छापेको छ :
महाधिवेशन आयोजक कमिटी भंग भयो, अब तपाईंहरुको माग सम्बोधन भयो हैन?
जबसम्म पारदर्शी ढंगबाट औपचारिक रूपमा दुईवटा वार्ता टोलीका बीचमा छलफल हुँदैन, दुईवटा नेताका बीचमा सहमति हुँदैन र प्याकेजमा सम्पूर्ण विषयमा सहमति हुँदैन, त्यति वेलासम्म जेसुकै निर्णय गरे पनि कुनै अर्थ हुँदैन।
भनेपछि शुक्रबारको केन्द्रीय कमिटी बैठकमा जानुहुन्न?
अवैधानिक महाधिवेशन आयोजक कमिटीलाई केन्द्रीय कमिटीको बैठक बोलाउने अधिकार नै छैन । त्यस्तो बैठकमा जाने कुरै हुँदैन ।
अब के गर्नुहुन्छ त तपाईंहरू?
सर्वोच्च अदालतको फैसलालाई प्रभाव पार्ने र पाँच पार्टीबीचको गठबन्धनमा अविश्वास पैदा हुने कुनै पनि काम हामीबाट हुँदैन।