काठमाडौं- नेकपा एमालेको माधवकुमार नेपाल समूह शुक्रबार अध्यक्ष केपी शर्मा ओलीले बोलाएको केन्द्रीय कमिटीको बैठकमा सहभागी नहुने भएका छन्।
एमाले केन्द्रीय कमिटीको शुक्रबारको बैठकमा सहभागी हुन पार्टीले नेपाल समूहका नेताहरुलाई २०७५ फागुन २८ कै हैसियतमा बोलाएको छ । तर माधव पक्षले भने जेठ २ मा जानुपर्ने माग गरिरहेकाे छ ।
बिहीबार बुद्धनगरस्थित क्वालिटी वैंक्वेटमा बसेको माधव पक्षधर स्थायी कमिटी सदस्यहरुको बैठकले यथास्थितिमा अध्यक्ष ओलीले बोलाएको बैठकमा सहभागी नहुने निर्णय गरेको उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले जानकारी दिइन् ।
जेठ २ भने पनि पूर्व माओवादी र नेकपा एकतासँगै थपिएका सदस्यहरुको बैठक बोलाइएको र अन्य राजनीतिक विषयमा पनि सहमति नभएको भन्दै बैठकमा नजाने निर्णय नेपाल पक्षले गरेको हो ।
संस्थापन पक्षले भने पार्टी एकताको लागि जेठ १८ को बैठकनै डेडलाइन हुने बताएको छ । नेपाल पक्षले सर्वोच्च अदालतको फैसलाअघि ओलीसँग एकता गर्न नचाहेको बुझिएको छ ।
माधव पक्षको बैठकमा संस्थापन पक्षसँग वार्तामा रहेका नेताहरुले अहिलेसम्म भएका छलफलको बारेमा जानकारी गराएको र कुनै पनि सहमति नभएको बताएका थिए ।