काठमाडौं- नेकपा एमालेको केन्द्रीय कमिटी बैठकको पूर्वसन्ध्यामा अध्यक्ष केपी शर्मा र वरिष्ठ नेता माधवकुमार नेपालबीच टेलिफोनमा कुराकानी भएको छ।
नेकपा एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले दिएको जानकारीअनुसार बिहीबार राति अध्यक्ष ओली र वरिष्ठ नेता नेपालबीच टेलिफोन संवाद भएको हो।
उनका अनुसार आज केन्द्रीय कमिटीको बैठक बस्नुभन्दा अघि अहिले बिहान दुई (ओली–नेपाल) पक्षका दोस्रो तहका नेताबीच वार्ता हुन लागेको हो। तर उनले वार्तामा सहभागी हुने नेता र स्थान भने निश्चित भइनसकेको बताए।
तर अहिलेसम्म यसअघि निर्धारित आज बस्ने एमाले केन्द्रीय कमिटी बैठकको समयमा भने कुनै फेरबदल नभएको पनि कार्यालय सचिव तामाङले जानकारी दिए। उनका अनुसार बैठक आज बिहान ११ बजे प्रधानमन्त्रीको सरकारी निवास (बालुवाटार) मा बस्नेछ।
उक्त बैठकमा आफ्नो पक्ष सहभागी नहुने निर्णय गरेको अवस्थाबीच वरिष्ठ नेता नेपालसँग प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले टेलिफोनमा कुराकानी गरेका हुन्। दुई नेताबीच टेलिफोन संवाद भए पनि माधव नेपाल पक्ष आजको बैठकमा आउने सहमति भइनसकेको तामाङले बताए।