काठमाडौं- नेकपा एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै सर्वाेच्च अदालतमा दायर रिट निवेदनमा गरिएको हस्ताक्षर फिर्ता लिन माधव नेपाल पक्षका सांसदलाई निर्देशन दिएका छन्।
बालुवाटारमा जारी पार्टीको केन्द्रीय कमिटी बैठकमा ओलीले देउवाका पक्षमा हस्ताक्षर गरेका एमाले सांसदलाई सोमबार ५ बजेभित्र हस्ताक्षरको निर्णय फिर्ता लिन निर्देशन दिएका हुन्।
यदि सोमबार दिनभित्र हस्ताक्षर फिर्ता भएन भने पार्टी एकता हुन नसक्ने ओलीले बताए। ‘कांग्रेसको नेतालाई प्रम बनाउन एमालेका सदस्यलाई छुट छैन। यो कुरा किमार्थ स्वीकार्य छैन। त्यसो गर्नु पार्टी फुटको घोषणा हो’, बैठकमा ओलीले भने।
संविधानको धारा ७६ उपधारा ५ अनुसार देउवाले नेपाल पक्षका समेत गरी १४९ सांसदको हस्ताक्षरसहित प्रधानमन्त्री पदको दाबी गर्दै राष्ट्रपतिसमक्ष दाबी पेस गरेका भए पनि प्रधानमन्त्री ओलीले त्यसअघि नै आफ्ना पक्षमा १५३ सांसद रहेको दाबी गरेपछि दुवैको दाबी खारेज गरिएको थियो भने गत जेठ ७ गते मध्यराति राष्ट्रपति विद्यादेवी भण्डारीले ओलीको सिफारिसअनुसार प्रतिनिधि सभा नै विघट गरिदिइन्।
त्यसविरुद्ध देउवाले सर्वाेच्च अदालतमा मुद्दा हालेका छन् भने अहिले त्यसको सुनुवाइ जारी छ। उनीसमेत १४६ सांसदको हस्ताक्षर रहेको रिट निवेदनमा नेपाल पक्षका सांसदले समेत हस्ताक्षर गरेका छन्।