काठमाडौं- नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउनुपर्ने मागसहित सर्वोच्च अदालतमा पेश गरिएको रिटमा गरेको हस्ताक्षर फिर्ता नलिने भएको छ ।
आज नेपाल पक्षबिनै बसेको एमालेको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओलीले दुई दिनभित्र हस्ताक्षर फिर्ता लिन निर्देशन आएलगत्तै नेपाल पक्षले कुनैपनि हालतमा हस्ताक्षर फिर्ता नगर्ने बताएको हो । नेपालनिकट एक नेताले भने,‘केपी ओलीले निर्देशन दिँदैमा हामी हस्ताक्षर फिर्ता दिँदैनौं ।’
उता, नेपालनिकट नेतृ रामकुमारी झाँक्रीले पनि अदालतमा बुझाएको हस्ताक्षर फिर्ता नगर्ने स्पष्ट पारिन् । उनले लेखेकि छिन्- ‘बरु, राजनीतिबाट सन्यास लिईन्छ । बरु, आत्महत्या गरिन्छ । हामी हस्ताक्षर फिर्ता लिँदैनौं ।
‘हामीबाट राजनीतिमा बेईमानी हुँदैन् । हामीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई समर्थन गर्नुको कारण सिस्टम बचाउनको लागि हो । संविधान र व्यवस्था बचाउनको लागि हो । त्यसैले केपी ओलीले भन्दैमा हस्ताक्षर फिर्ता लिँदैनौं,’ उनले भनिन् ।
आजको बैठकमा अध्यक्ष ओलीले नेपाली कांग्रेस सभापति देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गर्ने पार्टीका सासंदहरूलाई हस्ताक्षर फिर्ता लिन निर्देशन दिएका छन ।
आजको केन्द्रीय कमिटी बैठकले देउवाका पक्षमा हस्ताक्षर गर्नेहरूलाई दुई दिनभित्र हस्ताक्षर फिर्ता लिन निर्देशन दिएको हो । कांग्रेस सभापति देउवालाई प्रधानमन्त्री नेपालसहित उनी पक्षधर २३ जनाले हस्ताक्षर गरेका छन्।