गोरखा- गोरखाको बारपाक-सुलिकाेट र अजिरकोट गाउँपालिका बालुवा जोड्ने पक्की पुल दरौंदी नदीको बाढीले भत्काएको छ ।
गएरातिको बाढीले बारपाक सुलिकोट गाउँपालिका र अजिरकोट गाउँपालिका जोड्ने पुलको एकातर्फको भाग भत्काएको हो ।
यो पुल पाँच वर्ष अगाडि मात्रै निर्माण सम्पन्न भएको स्थानीय बताउँछन् ।
स्थानीयका अनुसार वर्षा र बाढीले अन्य सडक र धानबालीमा समेत क्षति पुगेको छ । बालुवा नजिकै रहेको पुल भासिए पछि उत्तरी गोरखा बारपाक, लाप्राक र गुम्दा जाने सडक खण्ड पुर्णरुपमा अवरुद्ध बनेको छ ।
‘अव बारपाक, लाप्राक, गुम्दा जाने सबै बाटो बन्द भयो । वैकल्पिक बाटो छैन । खोला तरेर जान सक्ने अवस्था छैन । माथिबाट आएको मान्छे माथि नै थुनियो,’ बारपाकका स्थानीय जीत बहादुर घलले भने।
पुल नबन्दा सम्म तत्काल आउजाउ गर्ने बाटो पुर्णरुपमा अवरुद्ध बनेको उनले बताए । ‘तत्काल तलपट्टिबाट ढुङ्गाहरु थुपारेर माथि ग्याबिन जाली लगाएर पुल बराबरको माटो थुपार्न सकियो भने आउन गर्न सकिन्छ, नत्र भने त अरु उपाय नै छैन । पानी परेको परै छ । अभैm कहिले सम्म पर्ने हो थाहा छैन ।,’ उनले भने ।