काठमाडौं- नेकपा एमालेको एकता कायम गर्नका लागि अनौपचारिक वार्ता गरिरहेका दुवै पक्षका वार्ताकार नेताहरु माधव नेपाललाई मनाउन उनकै निवास कोटेश्वर पुगेका छन् ।
केही दिनयता लगातार छलफल गरेर सहमतिको मस्यौदा समेत बनाइसकेका नेताहरुले संयुक्त रुपमा नेपाललाई वार्तामा भएका विषयको ब्रिफिङ गरेका छन् ।
नेता नेपालसँग छलफल गर्नका लागि केपी ओली पक्षका शंकर पोखरेल, सुवासचन्द्र नेम्वाङ र विष्णु पौडेल कोटेश्वर पुगेका छन् । साथमा माधव नेपाल पक्षका घनश्याम भुसाल, सुरेन्द्र पाण्डे र भीम आचार्य पनि छन् ।
शनिबार दुई पक्षका ६ जना नेताहरुबीच ललितपुरको समिट होटलमा वार्ता भएको थियो । सो वार्तामा सर्वोच्च अदालतमा बुझाइएको हस्ताक्षरलाई सहमतिको पूर्व शर्त बनाउने सहमति भएको थियो । यसबारेमा प्रधानमन्त्री केपी ओलीसँग कुरा राख्ने भन्दै पोखरेल, नेम्वाङ र पौडेल बालुवाटार फर्केका थिए ।
तर, बालुवाटारमा अपरान्ह बसेको ओली पक्षको केन्द्रीय कमिटी बैठकमा प्रधानमन्त्रीले हस्ताक्षर फिर्ता नभएसम्म कुनै कुरा नगर्ने भन्दै माधव पक्षलाई कारवाही गरिने बताएका थिए । वार्ताको भ्रममा नपर्न समेत ओलीले भनेका थिए ।
यी नेताहरुबीच विहीवार साँझ सहमतिको मस्यौदा समेत बनेको थियो । तर माधव नेपाल शुक्रवार आफ्नै समूहका नेताहरुको समेत सम्पर्कमा नरहेपछि मस्यौदा अलपत्र परेको बताइएको छ । यही पृष्ठभूमिमा आइतबार बिहानै ओली पक्षका तीन नेताहरु माधव नेपालको निवासमा छलफलका लागि पुगेका हुन् ।
एमाले स्रोतका अनुसार पोखरेल, नेम्वाङ र पौडेल पार्टी एकताको पक्षमा छन् । तर, ओली, विष्णु रिमाललगायतका नेताहरु भने हस्ताक्षर फिर्ता नलिए माधव नेपाल समूहलाई कारवाही कारवाही गरेर अगाडि बढ्ने पक्षमा छन् ।