काठमाडौं- नेकपा एमालेको एकता जोगाउन गठित कार्यदल पुनः ब्यूँतिएको छ । कार्यदलको बैठक सोमबार बेलुका ६ बजेदेखि सिंहदरबारमा बसेकाे हाे ।
कार्यदलमा केपी शर्मा ओलीका तर्फबाट सुवास नेम्वाङ संयोजक छन् भने सदस्यहरुमा विष्णुप्रसाद पौडेल, प्रदीप ज्ञवाली, शंकर पोखरेल र विष्णु रिमाल छन् । वरिष्ठ नेता माधव नेपालका तर्फबाट भीम रावल संयोजक छन् भने सदस्यहरुमा सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, गोकर्ण विष्ट र रघुजी पन्त छन् ।
२ जेठमा गठित कार्यदलको बैठक ६ जेठ पछि बस्न सकेको थिएन । कार्यदलका संयोजक रावललाई १२ जेठमा अध्यक्ष ओलीले निष्कासन गर्ने निर्णय गरेपछि कार्यदल निष्क्रिय भएको थियो । गएराति प्रधानमन्त्री ओली र एमाले उपाध्यक्ष भीम रावलबीच भएको भेटमा रावलले कार्यदल ब्युँताउनुपर्ने बताएका थिए।
जवाफमा ओलीले त्यसबारेमा सोच्न सकिने बताएका थिए। सोमबार दिनभर कार्यदलका सदस्यहरुबीच भएको छलफलमा कार्यदल ब्युँताउने सहमति भएको हो।
दोस्रो तहका नेताहरुसितको संवादमा वरिष्ठ नेता नेपालले कार्यदलले सहमतिको खाका ल्याएपछिमात्रै ओलीसँग बैठक बस्न सकिने बताएपछि कार्यदल ब्युँतिएको हो।