गोरखा- उत्तरी गोरखाको चुमनुब्री गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७८/७९ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । कृषि क्षेत्रलाई प्राथमिकतामा राखेर गाउँपालिकाले आगामी आर्थिक बर्षको निती तथा कार्यक्रम ल्याएको हाे ।
स्थानीय शासन ऐन अनुसार असार १० गते बजेट ल्याउनु पर्ने कानुनी बाध्यता रहेकाे छ । तर भाैगाैलिक हिसाबले टाढा रहेकाे गाउँपालिकाले मंगलबार नीति तथा कार्यक्रम ल्याएकाे हाे ।
गाउँपालिकाले चौरी संरक्षण गरी व्यवसायिक पशुपालन तर्फ आकर्षित गर्न दुध मिसन कार्यक्रम अन्तर्गत अनुदान उपलब्ध गराउने भएको छ । यस्तै, ‘भेज चुम भ्याली हिंसा रहित चुम भ्याली’ को व्यापक प्रचार-प्रसार गरी पर्यटकीय गन्तव्यका रुपमा विकास गर्ने र दुधपोखरी, रुपीनाला, कालताल, हिमचुली, पुङगिन गुम्बा, सेराङ गुम्बा, मु-गुम्बा लगायतका पर्यटकीय स्थलहरुमा पदमार्गको स्तरउन्नती कार्यलाई निरन्तरता दिने निती तथा कार्यक्रममा समावेश गरिएको छ ।
यस्तै, व्यवसायिक कृर्षि तर्फ आकर्षित गर्न स्याउ, दाँते ओखर, लसुन, आलुलगायतका विरुवा र वीउ अनुदानको रुपमा उपलब्ध गराउने भएकाे छ । स्थानयि जनताको जीवस्तर सुधार गर्न कृषि फर्म संचालनका लागि पनि अनुदान उपलब्ध गराउने र उत्कृष्ट कृषकलाई पुरस्कृत गर्ने नीति गाउँपालिकाले लिएको छ ।
जेष्ठ नागरीक, असहाय, अपाङ्ग, एकल महिला र विपन्न वर्गको स्वास्थ्य परिक्षणका लागि प्रत्येक वडामा निःशुल्क स्वास्थ्य शिविर संचालन गर्ने भएका छन भने पाठेघर खस्ने, पाठेघर तथा स्तन क्यान्सर, महिनावारी हुदाँ हुने समस्या लगायतका स्त्रीरोग सम्बन्धि रोग पहिचान र उपचार सम्बन्धि छुटै स्वास्थ्य शिवीर संचालन गर्ने नीति गाउँपालिकाले लिएको छ ।
आगामी आर्थिक वर्ष देखि नागरिकहरुको गुनासो सुन्न तथा गुनासो समाधान गर्नका लागि जनतासँग अध्यक्ष कार्यक्रम र गाउँपालिका क्षेत्रभित्र महिला सशक्तिकरणका साथै महिलाहरुको समग्र पक्षको विकास गर्न उपाध्यक्ष महिला सशक्तिकरण कार्यक्रम संचालन गरिने निती तथा कार्यक्रममा उल्लेख छ ।
त्यस्तै, पूर्वाधार तर्फ गाउँपालिकाको मुकाम फिलिममा व्यवस्थित हेलिप्याड निर्माणका लागि आवश्यक प्रक्रिया अगाडी बढाइने, निर्माणाधिन वेनीघाट लार्के लोकमार्गसँग गाउँपालिका केन्द्र र सबै वडाहरुलाई जोडने गरी यातायात गुरुयोजना निर्माण गरिने कार्यलाई कार्यक्रममा समावेश गरिएको छ ।
कादुरी एग्रिकल्चरल एड एशोसियनसँग सहकार्य गरी विद्युत नपुगेका ठाउँमा लघु जलविद्युत आयोजनाहरु निर्माण गर्ने र लघु जलविद्युत पुग्न नसकेको ठाउँमा बैकल्पिक उर्जाको व्यवस्था गरिने गाउँपालिकाले जनाएको छ । वनजंगल, जलाधार एवं जैविक विविधताको विकास र संरक्षणका लागि मनास्लु संरक्षण क्षेत्र आयोजनाको सहकार्य खोला तथा नदी किनारामा तटबन्ध लगाउने कार्यक्रम ल्याएको छ ।
आगामी आर्थिक वर्षबाट पालिकामा उत्कृष्ट सेवा प्रवाह गर्ने कर्मचारी र जेष्ठ नागरिक सम्मान गर्ने कार्यक्रम ल्याएको छ । कोभिडका कारण बन्द रहेका विद्यालयहरु आवश्यक स्वास्थ्य सामाग्री उपलब्ध गराई निश्चित स्वास्थ्य मापदण्ड बनाई पठनपाठन सूचारु गरिने गाउँपालिकाले जनाएको छ ।
पूर्णपाठ
नीति-तथा-कार्यकम-1