काठमाडौं– नेकपा माओवादी केन्द्रले ‘पार्टी खारेजीको माग’ गर्दै निर्वाचन आयोगमा निवेदन दर्ता गर्नेहरुलाई ‘अवसरवादी र अनैतिक तत्व’को संज्ञा दिएको छ।
माओवादी परित्याग गरेर एमाले प्रवेश गरेका रामबहादुर थापा (बादल)सहितका नेताहरुले दिएको पार्टी खारेजीको निवेदन दर्ता गरेकोप्रति पनि माओवादी केन्द्रले निर्वाचन आयोगको ध्यानाकर्षण गराएको छ।
माओवादी केन्द्रका केन्द्रीय कार्यालय सचिव श्रीराम ढकालले शुक्रबार एक वक्तव्य जारी गर्दै पार्टीसँग कुनै पनि सरोकार नराख्ने व्यक्ति निवेदक रहेको र दल दर्ता र दल खारेजीसम्बन्धी सामान्य कानुनी प्रक्रिया समेत जानकारी नभएको व्यक्तिले यस्तो हर्कत गर्नु हास्यास्पद देखिएको बताएका छन्।
‘केही अवसरवादी, स्वार्थी, लालची, अनैतिक तत्वले यस प्रकारको दुष्प्रचार गरी पार्टीलाई बदनाम गराउन सकिन्छ भन्ने मनसायले उक्त कार्य गर्न गराउन प्रयत्न गरेको देखिन्छ। संविधान, कानून, विधि, विधान विपरीत दुष्प्रचार गरिएकोमा पार्टीका सम्पूर्ण अंग नेता कार्यकर्ता, शुभचिन्तक भ्रममा नपर्न आग्रह गर्दछौं। हाम्रो पार्टी त्यस्तो कुनियतको दुष्प्रचारलाई खारेज गर्दछ,’ ढकालद्वारा जारी वक्तव्यमा भनिएको छ, ‘त्यस प्रकारका अनाधिकृत तथा आयोगसँग बेसरोकार निवेदन दर्ता स्वीकृत गर्दा अनावश्यक भ्रम सृजना हुने भएकोले आइन्दा त्यसो नगरियोस भन्ने आग्रह समेत गर्दछौं।’