गोरखा-संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बनाएको स्थानीय तह स्वमूल्याङकन कार्याबिधिको मापदण्डका आधारमा गरिएको संस्थागत क्षमताको स्वमूल्याङकनमा बारपाक-सुलिकोट गाउँपालिका जिल्ला भित्रकै सर्वोत्कृष्ट गाउँपालिका बन्न सफल भएको हो ।
कार्यबिधिमा समावेश गरिएका १० वटा सूचक र १ सय वटा उपसूचकका आधारमा बारपाकले ६६.७५ प्रतिसत अंक प्राप्त गरेको छ । त्यस्तै कार्यबिधीको मापदण्ड अनुसार संस्थागत क्षमताको स्वमूल्याङकनमा जिल्लाको भीमसेन थापा गाउँपालिका सवैभन्दा पछाडी परेको छ । भीमसेनले २८.५ प्रतिसत अंक प्राप्त गरेको छ ।
संस्थागत क्षमताको स्वमूल्याङकनको आधारमा जिल्लाको अजिरकोट गाउँपालिका दोस्रो धेरै अङ्क प्राप्त गर्ने गाउँपालिका बनेको छ । अजिरकोटले ६५.५ प्रतिसत अङ्क प्राप्त गर्न सफल भएको हो । त्यस्तै सहिद लखन गाउँपालिकाले ६०.२५ अङ्क ल्याएर संस्थागत क्षमताको स्वमूल्याङकनमा जिल्ला भित्र तेस्रो उत्कृष्ट गाउँपालिका बनेको छ । सामान्य प्रशासन मन्त्रालयले सार्वजनिक गरेको नतिजा अनुसार सिरानचोक गाउँपालिकाले ६०.२५ अङ्क ल्याएको छ भने धार्चे गाउँपालिकाले ४६. ५ प्रतिसत अङ्क ल्याउन सफल भएको छ ।
त्यस्तै गोरखा नगरपालिकाले ४२.२५ प्रतिसत र पालुङटार नगरपालिकाले ४१.७५ प्रतिसत, गण्डकी गाउँपालिकाले ४५ प्रतिसत र चुमनुव्री गाँउपालिकाले ३३.५ प्रतिसत अङ्क प्राप्त गरेको मन्त्रालयले सार्वजनिक गरेको बिबरणमा उल्लेख छ । कार्यबिधि अनुसार गाउँपालिका र नगरपालिकाका सवल र दुर्बल पक्षहरुको पहिचान र समिक्षा गर्ने गरिन्छ । स्थानीय तहका जनप्रतिनिधि र कर्मचारी स्वयंले सहभागितामूलक विधिद्वारा आ–आफ्नो स्थानीय तहको कार्यबारे मूल्यांकन गर्ने गर्दछन् ।
शासकीय प्रबन्ध, वार्षिक बजेट तथा योजना व्यवस्थापन, सामाजिक समावेशीकरण, वित्तीय एवं आर्थिक व्यवस्थापन, सार्वजनिक सेवा प्रवाह, न्यायिक कार्यसम्पादन, भौतिक पूर्वाधार, संगठन तथा प्रशासन, सहकार्य र समन्वयको आधार स्थानीयतहरुले नम्बर प्राप्त गर्ने छन्। ११ स्थानीय तह रहेकाे गाेरखामा आरुघाट गाउँपालिकाले भने भर्खरै मात्र संस्थागत क्षमताको स्वमूल्याङकन प्रक्रिया सुरु गरेको जनाएको छ ।