गोरखा– बोर्लाङ्ग स्थित भिमकुल बचत तथा ऋण सहकारी संस्थामा गए राती चोरी भएको छ । भीमसेन थापा गाउँपालिका-७, बोर्लाङ्गमा रहेको उक्त सहकारी संस्थामा गए राती अज्ञात समूहले चोरी गरेका हुन् ।
सिसिटिभी फुटेजमा देखिए अनुसार चोरीमा दुई जना व्यक्तिको संलग्नता रहेको देखिएको तर उनीहरूले सेतो रंगको कपडा र टोपी मास्क लगाएकाले पहिचान गर्न नसकिएको संस्थाका अध्यक्ष कृष्णकुमार श्रेष्ठले बताए ।
‘राती करिब तीन बजेतिर च्यानल गेटको ताला फुटाएर भित्र छिरेछन्,’ उनले भने, ‘भित्र कोठाको ढोका तोडेर सेफ पनि फुटाएछन् ।’ सेफमा रहेको रकममध्ये तीस लाख चोरी भएको उनले बताए । ‘सेफ भित्र करिब ५० लाख थियो, तर सबै लक खोल्न सकेनछ, तीस लाख लगेछ,’ उनले भने ।
संस्थाको भवनमा रहेको एउटा कम्प्युटर पनि चोरी भएको उनले बताए । सिसिटिभी जडान गरिएको कम्प्युटर ठानेर लगेको हुनसक्ने अनुमान गरिएको छ । सहकारीमा चोरी भएको बारे बिहान आठ बजे मात्र थाहा भएको श्रेष्ठले बताए । ‘आज मिटिङ बोलाएका थियौँ, बिहान आठ बजे कर्मचारी कार्यालय खोल्न जाँदा चोरी भएको थाहा भयो,’ उनले भने ।
ढोका फोडेको आवाज बाहिर नसुनोस् भन्नका लागी उनीरुले ध्यान भड्काउनका लागी ट्याक्टर ओहोरदोहोर गरेको हुन सक्ने अनुमान गरिएको छ । उनका अनुसार अर्को भित्रपट्टि रहेको २० लाख नगद भने सुरक्षित रहेको छ । घटनाका सम्बन्धमा थप अनुसन्धानका लागी जिल्लाबाट प्रहरी टोली आइरहेको बोर्लाङ्ग प्रहरी चौकीले जनाएको छ । घटनाका बारेमा थप विवरण आउन बाँकी छ ।