गोरखा- निषेधाज्ञामा महंगो भाडा असुलेर वाह्य जिल्ला यात्रु ओसारपसार गर्ने गोरखाका तीन माईक्रोबस सहित चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
कोरोना संक्रमणको जोखिम मध्यनजर गर्दै निषेधाज्ञाको समयमा एक जिल्लाबाट अर्काे जिल्लामा यात्रु वोकेर सवारी साधन चलाउन सरकारले निषेध गरेको छ ।
तर, मापदण्ड मिचेर वाह्य जिल्लामा पनि यात्रु ओसारपोसार गरेको थाहा पाएपनि माईक्रोबस र चालकलाई नियन्त्रणमा लिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय गोरखाका प्रमुख मित्रलाल ढकालले जानकारी दिए ।
काठमाडौंबाट यात्रु लिएर गोरखा आउँदै गरेको बा ५ ख १०७७, गोरखाबाट यात्रु लिएर काठमाडौं जाँदै गरेको बा ५ ख १०७३ र गोरखाबाट नारायणगढ ग १ ख ९६२२ को माईक्रोबसलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
‘अहिले जिल्लाभित्र मात्रै सवारी साधन चलाउन दिईएको छ । तर, गोरखाबाट काठमाण्डौँ, नारायणगढ लैजानका लागि यात्रु हालेर माईक्रोबसहरु हिँडेको देखेपछि हामीले नियन्त्रणमा लिएका छौँ । कारवाही के ? कति हुन्छ भन्ने कुरा निश्चित भएको छैन । सवारी र सवारी चालक प्रहरीको नियन्त्रणमा छन्’, उनले भने ।
गोरखाबाट काठमाडौंसम्मको नियमित माइक्रोबस भाडा ४५० रुपैयाँ छ । तर, हाल माईक्रोबस सञ्चालकहरुले प्रतिव्यक्ति एक हजार रुपैँयासम्म लिने गरेको प्रहरीले जनाएको छ ।