गाेरखा- विश्व स्वास्थ्य संगठनले भेरिएन्ट अफ कन्सर्नको रुपमा सूचीकरण गरेका कोरोनाभाइरसका दुई संक्रामक प्रजाति विभिन्न जिल्लाहरुमा पुष्टि भएका छन् ।
गण्डकी प्रदेशको स्याङ्जा र गोरखामा पाँचजनामा डेल्टा भेरिएन्ट पुष्टि भएको छ । पहिलोपटक भारतमा संक्रमण पुष्टि भएको डेल्टाको वैज्ञानिक नाम बी१६१७२ हो ।
प्रदेशको स्वास्थ्य मन्त्रालयले आइतबार विज्ञप्ति जारी गर्दै गोरखा र स्याङ्जामा डेल्टा भेटिएको जनाएको हो । पछिल्लो समय १०० भन्दा बढी मुलुकमा डेल्टा र यसको उपप्रजाति डेल्टा प्लस संक्रमण फैलिएको छ ।
गाेरखा र स्याङ्जाका पाँचजनामा कोरोनाको नयाँ भेरियन्ट ‘डेल्टा’ भेटिएको छ । जिल्लाकाे बारपाक-सुलिकाेट गाउँपालिकाका ७०, ३३ र ४० बर्ष उमेरका तिन जनामा नयाँ भेरियन्ट फेला परेकाे हाे ।
बारपाकमा गत जेष्ठमहिनामा काेराेना जस्तै लक्षण देखिएपछि गण्डकी प्रदेश सरकारकाे नेतृत्वमा आएकाे चिकित्सक सहितकाे टाेलीले जेठ ३१ गते संकलन गरेकाे स्वावमा डेल्टा भेरियन्ट भेटिएकाे हाे ।
याे भेरियन्ट पहिलाे र दाेस्राे लहरकाे भन्दा ६० देखि १०० प्रतिशत भन्दा बढी संक्रामक रहेको अनुसन्धानहरूबाट पुष्टि भइसकेको छ । त्यसकारण सजग रहन निर्देशनालयले आग्रह समेत गरेको छ ।
निर्देशनालयका अनुसार डेल्टा भेरियन्टले बालबालिकादेखि ज्येष्ठ नागरिकहरूलाई समेत उच्च संक्रमण गर्न सक्ने र फोक्सोमा बढी असर गर्न सक्ने क्षमता भएकाले सजग रहेर स्वास्थ्य मापदण्ड पालना गर्नुको विकल्प नरहेकाे बताएकाे छ ।