काठमाडाैं– नेकपा (एमाले)का नेता वामदेव गौतमले आफू प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीको गुटमा नलागेको बताएका छन्।
आइतबार राष्ट्रिय सभा बैठकको विशेष समयमा बोल्दै गौतमले केही समयअघि प्रधानमन्त्री ओलीले बालुवाटारमा बोलाएको बैठकमा गएकै आधारमा ओलीतिर गएको आरोप नलगाउन आग्रह गरे। आफू कुनै समूहमा नभइ एमालेमा भएको उनले प्रस्ट पारे।
‘पछिल्लोपटक प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारमा बोलाएको सभामा म गएको भनी धेरै आलोचना भयो। वामदेव केपीतिर गयो भनियो। म यो सभामार्फत् सबैलाई भन्न चाहन्छु म कुनैतर्फ होइन, एमाले हो त्यही प्रमाण पेस गर्न गएको हो,’ उनले भने।
एमालेभित्रको विवाद समाधान गर्न कार्यदलले काम गरिरहेको र आज साँझसम्म खुसीको खबर आउने अपेक्षा उनले व्यक्त गरे।
‘ठूलो घरको ठुलै चाल भनेझैँ अहिले हाम्रो पार्टीको विवाद जताततै चर्चा छ। ठूलो पार्टी भएको नाताले हाम्रो पार्टी कहिले नेकपा कहिले एमाले हुँदै आएको छ। अहिले एमाले भएका छौं,’ उनले भने, ‘हाम्रा अराजनीतिक क्रियाकलापले संविधान र ऐन नियमहरु कुल्चँदै शीर निहुराउनुपर्ने अवस्था सिर्जना गरेको छ। आफ्नो पार्टीको बारेमा भन्न न तहुने तर आफ्नै भएपछि नबोली अगाडि जान सकिएन भनी बोल्न बाध्य भएँ।’
नेकपा विवाद हुँदा आफूले बोल्न नसकेको उनले बताए। एमाले भएपछि एमालेमै रहेर बोल्नुपर्ने उनको भनाइ छ। उनले पार्टीमा जिम्मेवारी पाए भूमिका निभाउन आफू तयार रहेकोसमेत प्रस्ट पारे।